नेपाल अन्तरिक्ष युगमा, आफ्ना भूभागका सूचना ‘नेपालीस्याट–१’बाट

लेवरपाटी संवाददाता
    ५ बैशाख २०७६, बिहीबार १०:५७  मा प्रकाशित



काठमाडौँ– आज बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

‘नेपालीस्याट–१’ प्रस्थानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् ।

नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।

यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।

Write your Comment