‘श्रमिकको भावनालाई सम्बोधन गर्न सकेन’

लेवरपाटी संवाददाता
    १९ बैशाख २०७६, बिहीबार ०९:१४  मा प्रकाशित



 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासङ्घ (टुकोन) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप लगाउनुभयो ।

“श्रमिकको हक, हित स्वार्थको रक्षाका निमित्त राप्रपा नेपाल लड्ने बेला आएको छ”, उहाँले भन्नुभयो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष थापाले वालुवाटार जग्गा प्रकरणमा जोकोही दोषी भए पनि कारवाही हुनुपर्ने स्पष्ट पार्नुभयो । स्थानीय तहमा आफ्नो सङ्गठन विस्तारमा पार्टीका श्रमिक सङ्गठन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

राप्रपाका वरिष्ठ नेता दीपक बोहराले श्रमिकको पक्षमा कुनै पनि राजनीतिक दल आबद्ध श्रमिक सङ्गठनले काम गर्न नसकेको बताउनुभयो । “नेपालका श्रमिकको समस्या समाधानमा लाग्नुभन्दा श्रमिक नेता विदेश गएर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो । नेता बोहराले श्रमिकको पक्षमा पार्टी नै लड्नुपर्ने बेला आएको बताउनुभयो ।

राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले श्रमिकको पक्षमा लड्न महासङ्घलाई आग्रह गर्नुभयो । राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ट्रेड युनियन महासङ्घलाई वास्तविक श्रमिकको पक्षमा काम गर्न नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । टुकोनलाई श्रमिकको हक अधिकारका लागि लड्न र पार्टीले लिएको नीति तथा विचारलाई आम जनता माझ लैजान काम गरिने अध्यक्ष हिक्मतजङ्ग भण्डारीले बताउनुभयो ।
–––

Write your Comment