परोपकार प्रसूति गृहको चरम लापरबाही, सुत्केरीको उपचारमा कुनै संवेदनशीलता देखाइएन

मनोजबाबु अधिकारी
    २३ बैशाख २०७६, सोमबार २३:०६  मा प्रकाशित



काठमाडौँ– महिलाको स्वास्थ्य समस्याको सम्पूर्ण उपचार गर्ने राजधानीको एक मात्र सरकारी अस्पताल परोपकार प्रसूति गृहले उपचारको खोजीमा आएका बिरामीको स्वास्थ्यमाथि गम्भीर प्रकारको हेलचक्रयाइँ गरेको पाइएको छ ।

यही वैशाख १९ गते गर्भवती अवस्थामा धादिङकी ३० वर्षीय सरिता रेग्मी प्रसूतिका लागि भर्ना हुुनुभयो । सोही दिन बच्चा जन्माएपछि अस्पतालमाबट डिस्जार्ज भए पनि आफ्नो ‘पेल्भिक रिर्जन’ वरपर दुखाई बढेपछि पुनः वैशाख २२ गते अस्पतालमा स्वास्थ्य जाँचका लागि आउनुभएको थियो ।

परोपकार अस्पतालका चिकित्सकले तुरुन्तै वीर अस्पताल रेफर गरे । वीर अस्पतालले सरिताको शरीरमा कुनै प्रकारको जटिलता नदेखिएको भन्दै पुनः परोपरका प्रसूति गृहमा नै स्वास्थ्य परामर्श लिन भन्दै फिर्ता गरिदियो ।

सोही दिन राति ११ बजे प्रसूति गृहका चिकित्सकले बिरामीलाई रगत जचाउनुपर्ने भन्दै काउन्टरमा टिकट बापत रु ५० र भिडियो एक्स–रे गर्नुपर्ने भन्दै रु ४५० गरी रु ५०० लियो । उता सरितालाई भने भर्ना गरियो ।

भोलिपल्ट बिरामीका कुरुवालाई रगतको रिपोर्ट लिइ आउन भनेपछि मात्र थाहा भयो की बिरामीको रगत परीक्षण गर्न निकालिएको रगत परीक्षण गर्न नपठाइ त्यसै फालिएको रहेछ । चिकित्सकले रगत जाँच गर्न लेखि पठाएको पूर्जा र पैसा तिरेको टिकटसमेत भेटिएन ।

त्यस्तै अस्पतालको आकस्मिक कक्षबाट लिइएको रगत परीक्षणको रिपोर्ट पनि दिइएन र काउन्टरबाट रगत परीक्षणको बिल नभई भिडियो एक्स–रे शीर्षकमा रकम तिलेरको बिल दिएको भेटियो ।

यतिहुँदा हुँदै पनि २३ गते अपराह्न ३ बजेसम्म नत बिरामीको भिडियो एक्स–रे गरियो नत रगतको परीक्ष नै । यस विषयमा आकस्मिक कक्षमा सोधपुछ गर्दा त्यहाँ रहेका कर्मचारीले आफू राति ड्यिूटीमा नभएकाले यससम्बन्धमा केही थाहा नभएको र रगत निकालेपछि रगत हेमोलाइज भई फालियो होला भनी पन्छिन खोजे ।

बिल काटेको २४ घन्टा हुँदासमेत भिडियो एक्स–रे नहुनु र रगतको रिपोर्ट नआएको विषयमा अस्पताल प्रशासन प्रमुखसमक्ष जानकारी लिँदा प्रसूति गृहका निर्देशक प्राडा जागेश्वर गौतमले यो लापरवाही नभएको भन्दै गुनासोसमेत सुन्न चाहेनन् ।

Write your Comment