महोत्तरीको जोखिम सम्भावित क्षेत्रमा एचआईभी परीक्षण, एक महिलामा सङ्क्रमण देखियो

लेवरपाटी संवाददाता
    ९ जेष्ठ २०७६, बिहीबार २२:५७  मा प्रकाशित



महोत्तरी – महोत्तरीका जोखिम सम्भावित क्षेत्रका वासिन्दामा निःशुल्क रुपमा एचआईभी परीक्षण गरिएको छ । काठमाडौँको रातोपुलमा रहेको ‘वी फर चेन्ज’ नामक संस्थाले जिल्लाका विभिन्न क्षेत्रमा एचाआईभी परीक्षण शिविर सञ्चालन गरेको थियो ।

महोत्तरी गाउँपालिका, मठियानी, औरही, लोहरपट्टी र रामगोपालपुर नगरपालिकामा पाँच दिनसम्म निःशुल्क रुपमा एचआईभी परीक्षण गरिएको थियो । जोखिम सम्भावित क्षेत्रलाई प्राथमिकता दिई गाउँगाउँमा पुगेर रगत परीक्षण गरिएको हो ।

चार नगरपालिका र एक गाउँपालिकाका एक हजार ६२२ जनामा एचआईभी परीक्षण गएिको कार्यक्रम संयोजक प्रयास केसीले जानकारी दिनुभयो । परीक्षण गरिएकामध्ये एक महिलामा एचआईभी सङ्क्रमण देखिएको शिविरमा खटिइनुभएका ल्याब टेक्निसियन मनोज अधिकारीले जानकारी दिनुभयो ।

सोही संस्थाले पाँच महिना अगाडि महोत्तरीकै विभिन्न स्थानमा एक हजार ७२ जनामा एचआईभी परीक्षण गरेको थियो । सो क्रममा तीन जनामा एचआईभी सङ्क्रमण देखिएको थियो ।

एचआईभी सङ्क्रमित महिलालाई थप उपचारका लािग जिल्ला अस्पताल महोत्तरी पठाइएको संयोजक केसीले जानकारी दिनुभयो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकुको अनुमति लिई सञ्चालन गरिएको कार्यक्रममा एएचएफ नेपालको आर्थिक सहयोग, एनएपिएनको प्राविधि र महोत्तरी प्लसको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Write your Comment