सर्लाहीमा निःशुल्क एचआईभी परीक्षण, १५ वर्षे किशोरीदेखि ६९ वर्षीय वृद्धामा सङ्क्रमण भेटियो

जिल्ला अस्पतालमा एचआईभी परीक्षण गरेको तेइस सय !
मनोजबाबु अधिकारी
    १३ जेष्ठ २०७६, सोमबार २३:२०  मा प्रकाशित



सर्लाही– सर्लाहीको एचआईभी जोखिम सम्भावित क्षेत्रका स्थानीय वासिन्दामा निःशुल्क एचआईभी परीक्षण गरिएको छ ।

काठमाडौँको रातोपुलमा रहेको ‘वी फर चेन्ज’ नामक संस्थाको सहयोगमा सम्भावित क्षेत्र तथा नेपाल–भारत सीमा क्षेत्रमा निःशुल्क एचआईभी परीक्षण शिविरको आयोजना गरिएको थियो ।

वयलबास, वसन्तपुर, हपुर्खा र रामनगर नगरपालिका तथा सिमरा विष्णु गाउँपालिकामा चार दिनसम्म निःशुल्क एचआईभी परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

सो क्षेत्रका विषेशगरी वैदेशिक रोजगारीमा गएका युवा र उनीहरुको परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रयास केसीले जानकारी दिनुभयो ।

तीन नगरपालिका र एक गाउँपालिकमा गरी एक हजार २२७ जनामा एचआईभी परीक्षण गरिएको उहाँले बताउनुभयो । परीक्षणका क्रममा एकै परिवारका दुई दम्पतीसहित अन्य १० जनामा एचआईभी सङ्क्रमण भेटिएको ल्याब टेक्निसियन मनोज अधिकारीले जानकारी दिनुभयो ।

एचआईभी सङ्क्रमण भेटिनेमा १५ वर्षीय किशोरीदेखि ६९ वर्षीय वृद्धासमेत रहेका छन् । सोही संस्थाले गत मंसिर महीनामा सर्लाहीकै विभिन्न स्थानमा एक हजार ७२ जनामा एचआईभी परीक्षण गरेको थियो । सो क्रममा चार जनामा एचआईभी सङ्क्रमण देखिएको थियो ।

एचआईभी सङ्क्रमितलाई थप उपचारका लािग सर्लाही प्लसको सहयोगमा जिल्ला अस्पताल लैजाने संयोजक केसीले जानकारी दिनुभयो । हालसम्म सर्लाहीमा २२६ जनामा एचआईभी सङ्क्रमण भेटिएको छ । संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको एआरटी सेन्टरका परामर्शदाता मुकेश यादवले जानकारी दिनुभयो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकुको अनुमति लिई सञ्चालन गरिएको कार्यक्रममा एएचएफ नेपालको आर्थिक सहयोग, एनएपिएनको प्राविधि र सर्लाही प्लसको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

यसैबीच, जिल्लामा विभिन्न संस्थाले निःशुल्क रुपमा एचआईभी परीक्षण गर्ने गरेपनि जिल्ला अस्पताल सर्लाहीले भने एचआईभी परीक्षणको नाममा चर्को शुल्क असुल्ने गरेको छ ।

विभिन्न संस्थाले एचआईभी परीक्षणका लागि जिल्ला अस्पतालमा पठाउने गरेका व्यक्तिसँग अस्पतालले चर्को शुल्क उठाउने गरेको हो । एचआईभी परीक्षण गर्न जिल्ला अस्पताल पुग्ने नागरिकसँग अस्पतालले प्रतिव्यक्ति रु दुई हजार ३०० असुल्ने गरेको स्रोतको भनाइ छ ।

अस्पतालको आन्तरिक स्रोतका लागि एचआईभी परीक्षणबापत रकम लिने गरिएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले निःशुल्क रुपमा दिनुपर्ने एचआईभीविरुद्धको औषधिसमेत नदिने गरेको एचआईभी पीडितको गुनासो छ । सरकारी अस्पताले औषधि उपलब्ध नगराएपछि भारतीय सीमावर्ती शहर सीतामणिमा पुगेर औषधि खरिद गर्नु परेको उनीहरुको भनाइ छ ।

Write your Comment