भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ, ७०० बेरोजगार युवालाई रोजगारी प्रदान

लेवरपाटी संवाददाता
    २४ जेष्ठ २०७६, शुक्रबार २२:५९  मा प्रकाशित



भक्तपुर – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तर्गत भक्तपुर जिल्लाका चार वटै स्थानीय तहमा सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको छ । शुक्रबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरमा रोजगार कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको उल्लेख गर्दै हरेक समस्याको समाधान पहिल्याउँदै सरकार हिँडेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोजगारीका लागि विदेशमा ४० लाख युवाहरु भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेहरुलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।”

काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देश मै रोजगारी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको जानकारी दिँदै देशमा अब कोही पनि भोकै बस्नु पर्ने र भोकले मर्नु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कटुञ्जेको सुवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई निर्माण औजार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याइएको जिकीर गर्दै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिनेगरि देशैभरि यो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको भनाई राख्नुभयो ।

पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले रोजगार कार्यक्रमका लागि भक्तपुरका चारवटा नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तह मै बेरोजगार सूचीमा रहेका नागकिरलाई काममा परिचालन गर्ने बताउनुभयो ।

सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाहरुको तथ्यांकअनुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै बस्नेतले कृषिमा मात्रै १२ लाख, भवन निर्माणको क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिन सकिने बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेश सदस्य सांसद रजनी जोन्छे, श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दहाल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको चर्चा गर्नुभयो ।

कार्यक्रमबाट भक्तुपुरका करिब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । भक्तपुरमा करिब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए ।

 

Write your Comment