वैदेशिक रोजगारीमा बहराइन पुगेका भीमबहादुरको मिर्गोला ‘फेल’, रकम अभावमा उपचारमा समस्या

लेवरपाटी संवाददाता
    २९ जेष्ठ २०७६, बुधबार २३:१६  मा प्रकाशित



पाल्पा– रामपुरका भीमबहादुर कुमालको मिर्गौलाले काम नगर्ने भएपछि समस्या भएको छ । विगत २२ महीना अगाडि रोजगारको सिलसिलामा  बहराइन पुगेका रामपुर नगरपालिका–८ पाल्पा निवासी ३१ वर्षका कुमालको दुईवटै मिर्गौलाले काम नगर्ने भएको हो ।

गत हप्ता नेपाल आइपुग्नुभएका कुमालको चिकित्सकले दुवै मिर्गौला फेर्नुपर्ने बताएपछि खर्च जुटाउन उहाँ काठमाडौँमा भौँतारिनुभएको छ । कुमालकी श्रीमती अनिताले भन्नुभयो, “श्रीमान्को उपचारका लागि सबैसँग सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।”

कुमालको आठ वर्ष र तीन वर्षका छोरा छन् । “आम्दानीको स्रोत नभएको परिवारमा उपचारको खर्च कसले देला ? छोरालाई कसरी पढाउँ ? कसरी लालनपालन गरौँ”, अनिताले रुँदै भन्नुभयो । राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा उपचार गराउँदा तथा होटलमा बस्नुपर्दा धेरै गाह्रो भएको उहाँले गुनासो गर्नुभयो । (रासस)

Write your Comment