मजदूर विवादका कारण पाँच दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौँ

विदेशी पर्यटकलाई अन्यत्रै सारियो
लेवरपाटी संवाददाता
    २ असार २०७६, सोमबार १७:१०  मा प्रकाशित



काठमाडौँ– कर्मचारीहरुको विवादका कारण पाँचतारे होटल हायात पाँच दिनदेखि बन्द भएको छ । श्रम ऐनअनुसार आफूहरुले सेवासुविधा नपाएको भन्दै कर्मचारीहरुले होटलका काम बिहीबारदेखि ठप्प पारेका छन् ।

कर्मचारीहरुलाई श्रम ऐन तथा सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध नगराएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताउनुभयो ।

लामो समयदेखि होटलले कर्मचारीलाई काममा लगाउने तर सेवा सुविधालगायत बिदा दिनसमेत आनाकानी गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् । श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ अनुसार कर्मचारीले पाउनुपर्ने बिदालगायत अन्य सेवा सुविधा, कर्मचारीको ग्रेड वृद्धि हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन् ।

होटल हायातले नेपाली विदेशी नेपाली कामदारलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याएको र नेपाली कामदारहरुलाई हेप्ने तथा विस्तारै सेवा सुविधाबाट वञ्चित गरी कामबाट हटाउने उपाय रचेको आधिकारिक ट्रेड युनियनले आरोप लगाएको छ ।

होटलको व्यवस्थापन पक्षले भारतीय कामदार ल्याई नेपाली कामदारलाई तिनै कामदारबाट हेप्न लगाउने प्रवृत्ति देखिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहाल बताउँछन् ।

होटल हायातमा चार जना भारतीय कर्मचारीहरु रहेको र लगभग ३०० को हाराहारिमा नेपाली कर्मचारी रहेको होटलले जनाएको छ ।

होटलका एचआर कोअर्डिनेटर सुरेश केसीले कर्मचारीले अनावश्यक माग राखेर होटल बन्द गरेकाले व्यवस्थापन पक्षलाई होटल बन्द गरेर बस्नुको बिकल्प नरहेको बताउनुभयो । “कर्मचारीहरुले होटलको व्यवस्थापन पक्षलाई नै घुँडा टेकाउने गरी अनावश्यक माग राखेर हड्ताल गरिरहेका छन् । हामी यस्ता अनावश्यक माग पूरा गर्न सक्दैनौँ”–उहाँले भन्नुभयो, “जहिलेसम्म बन्द गर्नुपर्ने हो, बन्द गर्छौँ ।”

कर्मचारीको हड्तालसँगै सम्पूर्ण काम ठप्प भएपछि होटलमा रहेका विदेशी पर्यटकहरु अन्यत्र सारिएको होटल व्यवस्थापन पक्षले जनाएको छ । “होटलमा केही पनि काम नभएपछि पर्यटक अन्यत्र सारिएको हो, होटल अहिले पूरै बन्द छ”– होटलका एचआर कोअर्डिनेटर केसीले भन्नुभयो ।

हड्तालपछि होटलको अन्तर्राष्ट्रिय बुकिङ नै बन्द गरिएको जनाइएको छ । “कर्मचारीले होटल र उद्योग भनेको हड्ताल गरेर खाने भाँडो सम्झिएपछि के लाग्छ र ?” केसीले भन्नुभयो ।

निकै लामो समयदेखि मजदुर र मालिकबीच विवाद रहँदै आएको होटल हायातमा कर्मचारीहरुको अनियमितता बढ्न थालेसँगै स्पष्टीकरण सोधिएपछि यसले चर्को रुप लिएको हो । केही कर्मचारी आफूखुसी काममा उपस्थिति नहुने तथा बिदामा बस्ने गरेकाले स्पष्टीकरण सोधिएको र त्यही विषयलाई लिएर कर्मचारी विवादमा उत्रिएको व्यवस्थापन पक्षको दाबी छ । तर होटलका कर्मचारीले भने नेपाली कामदारलाई होटलले गर्ने हेपाहा प्रवृत्ति र व्यवहारका कारण आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँदै आएका छन् ।

के छन् कर्मचारीका माग ?

समान स्केलका स्वदेशीरविदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको नौ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा पाँच वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीलाई वार्षिक पाँच हजार तलब वृद्धि गरिनुपर्नेलगायत माग कर्मचारीले राख्दै आएका छन् ।
–नेपाल लाइभबाट

Write your Comment