श्रम कार्यालयको आग्रहमा होटल हायातका आन्दोलनरत मजदुर काममा फर्किए, व्यवस्थापकको गैरकानूनी बन्द कायमै

लेवरपाटी संवाददाता
    ४ असार २०७६, बुधबार २२:४८  मा प्रकाशित



काठमाडौँ – श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात रिजेन्सी, काठमाडौँ) का मजदुर आजदेखि काममा फर्किएका छन् ।

श्रम तथा रोजगार कार्यालय टेकुले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका महासचिव एवं हायात होटलको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिनुभयो । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानूनी बाटो खुला भएकाले आन्दोलन नगरी काममा फर्कन मजदुरलाई आग्रह गरेको थियो ।

मजदुर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । “आन्दोलरत मजदुर सबै काममा फर्केका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानूनी बन्द कायमै राखेको छ ।” मजदुर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन ।

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएपछि होटल विवादित बन्दै आएको थियो ।

होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ । “जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्”, उहाँले भन्नुभयो, “मजदुरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ ।”

मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रिएको अध्यक्ष दाहालले बताउनुभयो । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् ।

मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो । हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।

सम्बन्धित समाचार

मजदूर विवादका कारण पाँच दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौँ

मजदुर विवाद चर्केपछि होटल हायत रिजेन्सी बन्द, होटलले भन्यो– गैरकानूनी हड्ताल र नाराजुलुसका कारण सेवा दिन सकिएन

Write your Comment