हायात मजदूर आन्दोलन : होटलले ग¥यो मजदूरमाथि कारबाही, सात दिनभित्र कारबाही फिर्ता नलिए सङ्घर्ष गर्ने चेतावनी

लेवरपाटी संवाददाता
    ८ असार २०७६, आइतबार १३:३७  मा प्रकाशित



काठमाडौँ– तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पु¥याएको भन्दै कारवाही गरेको छ ।

होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बन गरेको हो ।

ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र रबेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ ।

व्यवस्थापनले एकलौटी ढङ्गले मजदूर कर्मचारीमाथि कारवाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गर्नुभएको छ । सङ्गठनको आजै बसेको बैठकले कारवाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारबाही फुकुवा नभए कडा सङ्घर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले बताउनुभयो ।

कानूनमा तोकिएको सेवा सुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो ।

श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन–मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए ।

मजदूरलाई कारवाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् । होटलमा रहेको सरकारी जग्गा र सेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवादित छ । संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत होटलको शेयर र जग्गाको विषयमा अध्ययन गरिरहेको छ ।

सम्बन्धित समाचार

मजदुर विवाद चर्केपछि होटल हायत रिजेन्सी बन्द, होटलले भन्यो– गैरकानूनी हड्ताल र नाराजुलुसका कारण सेवा दिन सकिएन

मजदूर विवादका कारण पाँच दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौँ

श्रम कार्यालयको आग्रहमा होटल हायातका आन्दोलनरत मजदुर काममा फर्किए, व्यवस्थापकको गैरकानूनी बन्द कायमै

Write your Comment