रास्काेट नगरपालिकाले स्थापना गर्याे श्रम राेजगार बैंक,  रोजगारीका लागि भारत जाने दिन गए

लेवरपाटी संवाददाता
    ७ भाद्र २०७६, शनिबार २२:११  मा प्रकाशित



मान्म- जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन् ।

१८ देखि ४० वर्षसम्म उमेर पुगेका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक सञ्चालनमा ल्याएको हो ।नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन् । नगरपालिकाले गाउँमै उक्त बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का चन्द्र सिम्खडाले बताउनुभयो ।

“म १२ वर्षको उमेरदेखि भारतको नैनीतालमा मजदूरी गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “भारतमा गएर काम गर्दा धेरै दुःख हुन्थ्यो । जति काम गरे पनि घरमा आउँदा परिवारका लागि लुगाफाटो पु¥याउन पनि मुस्किल हुन्थ्यो ।”

रोजगारीका लागि मलेसिया पुगेर पाँच वर्षसम्म काम गरेका सोही नगरपालिका–१ का हिक्मत न्यौपानेले गाउँमै रोजगारी पाइएकाले अब मलेसिया नजाने बताउनुभयो । “पाँच वर्ष मलेसिया बसेँ । मलेसिया बस्दा न पैसा कमाउन सकेँ नत सुख नै पाए”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले रोजगार बंैकमार्फत काम दिन थालेपछि विदेशमा गरिएको दुःखभन्दा घर नजीकै काम पाउँदा साह्रै खुशी लागेको छ ।”

गाउँमै रोजगारी पाउन थालेपछि स्थानीय बेरोजगार पनि खुशी हुन थालेका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंंह बमले बताउनुभयो । “अहिले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “घर नजीकै रोजगारी पाइएको छ ।

गाउँमा नै काम गरेर स्थानीयवासीहरु रोजगार हुन थालेका छन् ।” नगरपालिकाले बेरोजगारी युवायुवतीहरुलाई रोजगार बनाउने उद्देश्यले स्थापना गरेको श्रम रोजगार बैंकमार्फत २६० ले गाउँमै रोजगारी पाएकाले कामको प्रभावकारितासमेत बढ्दै गएको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।

उहाँले भन्नभयो, “अझै यो कार्यक्रम प्रभावकारी हुँदै गएमा थपलाई रोजगारी दिन नयाँ कार्यक्रम ल्याउने योजना छ ।” उक्त बैंकमार्फत गाउँको विकासका लागि ग्रामीण सडक, धारा, पुलपुलेसा, पोखरी निर्माण गरेर विकाससँगै रोजगार हुन थालेको उक्त बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो । “हामीले श्रम रोजगार बैंक स्थापना गर्दा धेरैले हाँसोका रुपमा लिए”, उहाँले भन्नुभयो, “अहिले गाउँमै रोजगारी हुँदा धेरै मानिस खुशी भएका छन् ।”

यसरी निर्माण हुनेछ श्रम बैंक
नगरपालिका सबै  वडाका बेरोजगार महिला तथा पुरुष समेटर श्रम बैंक सञ्चालन गरिएको हो । नगरपालिका भित्रका श्रमयोग्य नागरिकलाई लक्षित गरेर बैंक सञ्चालनमा ल्याएको र यससम्बन्धी कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट श्रमशक्ति छनोटको लागी सिफारिस भएकाे छ । ‘श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैंकको स्थापना गरिएको छ ।

नगरपालिकाभित्रका बेरोजगार युवा तथा युवतीको वडासमितीले सिफारिस गरेका  र आवेदन भरेका यूवाले  अन्तिम छनोटको लागि नगरपालिकामा  ३ दिने परिक्षण, प्रशिक्षण पछि अन्तिम सफल नामावली प्रकाशित गरिने छ । समूह बनाएर त्यसको लगत नगरपालिकाले राख्ने कार्यविधि नगरपालिकाले बनाएको छ । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय पचास जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिने नगरपालिकाको लक्ष्य छ ।

साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि  अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप १० प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको छ ।  श्रम बैंकका लागि २० जनाको समूह निर्माण गरेर काम दिने र दोहोरो मुल्याङ्कन बाट आएको अन्तिम रकम सबैको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गरिने छ । त्यसका लागि नगरपालिकाले नगरमा एकजना अध्यक्ष ,  एकजना मुख्य व्यवस्थापक र  पत्येक समुहमा एकजना प्राविधिक र एकजना व्यवस्थापक नियुक्त गरी उनीहरूको व्यवस्थित परिचालन गरिने छ ।

 १० लाख बिमा
श्रम बैंकमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्नेछ । बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । ‘श्रम रोजगार बैंकका सदस्यले नगरका विकास  निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्नेछन् ।

Write your Comment