अझै राेकिएन बालश्रम, बाँकेमा एक हजार बढी बाल श्रमिक

लेवरपाटी संवाददाता
    २० कार्तिक २०७६, बुधबार २२:११  मा प्रकाशित



नेपालगन्ज- बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो समय बालश्रमिकहरु दैनिक रुपमा बढ्दै गइरहेका छन् ।

आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्थाहरु भएपनि उनीहरुको उचित विकल्पसहित व्यवस्थापन गर्न नसक्दा दैनिक रुपमा बाल श्रमिकको सङ्ख्यामा बृद्धि भइरहेको छ ।

वर्षेनी बालबालिकाको अधिकार रक्षा र श्रमिकका रुपमा काम गरिरहेका बालबालिकालाई उचित शिक्षा नै दिनेगरी पुनःस्थपनाका नाममा लाखौं खर्च हुँदा पनि बालबालिकाको अवस्था फेरिन सकेको छैन । नेपालगन्ज शहरका अधिकांश साना तथा मझौला होटलहरुमा कामदारका रुपमा बालिबालिकाले नै श्रम गरिरहेको पाइन्छ । जिल्लामा बालअधिकारको क्षेत्रमा दर्जनाैं सामाजिक संस्था अस्तित्वमा देखिए पनि तथ्याङ्कले बालश्रमिकको सङ्ख्या घटेको देखाउँदैन ।

एघार वर्ष पुरानो तथ्याङ्कमा यस जिल्लामा झण्डै तीन हजार बालश्रमिक रहेकोमा अहिले पनि त्यो सङ्ख्या नघटनुमा सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको तर्फ सङ्केत गर्दछ । एघार वर्ष पुरानो सो तथ्याङ्क भने अझै अद्यावधिक गरिएको छैन । एकातर्फ जिल्लागत बालश्रमिकको तथ्याङ्क अद्यावधिक गरिएको छैन भने नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाको अभियान शुरु गर्नुलाई पनि सरोकारवालाले व्यङ्ग गर्ने विषय बनाएका छन् ।

बाँकेमा बालश्रम रोकथामका लागि अहिले स्थानीय तह, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास), इन्सेकलगायतका सरकरी तथा गैरसरकारी निकाय क्रियाशील रहेपनि नतिजा सोचे जस्तो आउने सकेको छैन । बालबालिकालाई बालश्रमबाटमुक्त गर्नका लागि उनीहरुका अभिभावकलाई रोजगारको अवस्था सिर्जना गर्ने कुनै कार्यक्रम नभएकाले पनि प्रगति नदेखिएको सरोकारवालाले भन्ने गरेका छन् ।

‘बढ्दो शहरीकरण, बसाइसराइ, जनसङ्ख्या वृद्धि, अभिभावकमा रोजगारको वैकल्पिक व्यवस्था नहुनु, सरकारी तथा गैरसरकारी निकायबीच योजना निर्माण तथा कार्यक्रम सञ्चालनमा समन्वय नहुनु र ग्रामीण क्षेत्रमा पर्याप्त विकासका पूर्वाधार निर्माण हुन नसक्दा पनि जिल्लामा बालश्रम मौलाउँदै गएको कुरा तथ्याङ्कले देखाएको छ ।

कानूनले १४ वर्षमुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाइने व्यवस्था गरे पनि नेपालगञ्जका विभिन्न ग्यारेज, होटल, रेष्टुरालगायत कलकारखाना र घरमा बालबालिकाको प्रयोग श्रमिक तथा कामदारका रुपमा बढ्दै गए पनि त्यसको रोकथाम प्रभावकारी हुन सकेको छैन । “जटिल सामाजिक संरचना तथा आर्थिक अभावका कारण जिल्लामा बालश्रम नियन्त्रणमा कठिनाई आउने गरेको छ”, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नंं. ५ का प्रमुख भोला महतको भनाइले पनि बालश्रम नियन्त्रण चुनौतीपूर्ण रहेको देखाउँछ ।

उहाँले बालश्रम रोकथामका लागि बालबालिका क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाको पनि उत्तिकै दायित्व रहेको भन्दै बालश्रम न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरी अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । “अनुगमनले मात्र बालश्रम नियन्त्रण नहुने भएकाले बालश्रमिक राख्नेमाथि पनि राज्यका निकायले कारवाही थाल्नुपर्छ”, इन्सेकका प्रदेश प्रमुख महतको सुझाव छ । तथ्याङ्क अनुसार, यस जिल्लामा झण्डै एक हजार ५०० घरेलु कामदार, ४०० होटल रेष्टुरामा, ४०० यातायात तथा ग्यारेजमा र अन्य सडक मजदूरका रुपमा कार्यरत छन् ।

Write your Comment