मानव तस्करी गर्ने महिला पक्राउ

लेवरपाटी संवाददाता
    २३ कार्तिक २०७६, शनिबार २१:५६  मा प्रकाशित



भाेजपुर– अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पुर्याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राईलाई पक्राउ गरेकाे हाे ।

भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताकाअनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो ।

उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट एक लाख रियल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ ।

Write your Comment