आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन प्रारम्भ

लेवरपाटी संवाददाता
    २६ कार्तिक २०७६, मंगलबार १४:०७  मा प्रकाशित



काठमाडाैँ– आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानव अधिकार संस्थाबीच सहयोग आदान्प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ भर्खरै राजधानीमा प्रारम्भ भएको छ ।

अन्तरदेशीय सरकारी तथा गैरसरकारी संस्थाबीच संवाद र सहकार्यका माध्यमबाट प्रवासी कामदारका मानवाधिकार संरक्षण तथा कामदारले भोग्नुपरेका समस्या समाधानका उयाय खोजिने सम्मेलनको प्रमुख लक्ष्य रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौतीका विषय, व्यवसाय र मानव अधिकारको जवाफदेहीता, न्यायमा पहुँचको सुनिश्चिततालगायत विषयमा छलफल केन्द्रित हुनेछ ।

नेपाल तथा दक्षिण एशियाबाट लाखौँ सङ्ख्यामा कामदार खाडी लगायत अन्य मुलुकमा रोजगारीका लागि गइरहेको अवस्थामा भर्ना प्रक्रियालाई साझा अवसर र चुनौतीको रुपमा लिई आपसी सहयोग र समझदारीमार्फत सुनिश्चित, सुरक्षित र व्यवस्थित बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिएको छ ।

सम्मेलनले काठमाडाैं घोषणापत्र र कार्यान्वयन योजना (एक्सन प्लान) जारी गर्नेछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभयो । सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका छन् । ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

नेपाल सरकारको आर्थिक सहयोग शुरु भएको सो सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सहजीकरण गरेका छन् ।

सम्बन्धित समाचार

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन कात्तिक २६ देखि

Write your Comment