काठमाडौं– सरकारी अधिकारीहरूले सामाजिक सुरक्षा योजनालाई व्यावहारिक बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । ‘नयाँ युगको शुरुआत’ नारा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ११ गते तामझामका साथै शुभारम्भ गरेको सामाजिक सुरक्षा योजनामा विद्यमान व्यवस्थालाई लिएर निजी क्षेत्र सहभागी हुन अनाकानी गरिरहेको बेला उनीहरूको यस्तो भनाइ आएको हो ।
मानव संसाधन समाज नेपालको सहकार्यमा शनिवार सामाजिक सुरक्षा कोषले आयोजना गरेको छलफल कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना नेपालका लागि नौलो भएको बताउँदै विद्यमान व्यवस्थालाई व्यावहारिक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘विश्वमा सामाजिक सुरक्षा पुरानो भयो तर हाम्रो लागि नौलो छ, लागू गर्ने क्रममा अनेकौं दुविधाहरू आउन सक्छन्, व्यावहारिक बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने । याे समाचार आजकाे आर्थिक अभियान दैनिकले छापेकाे छ ।