सामाजिक सुरक्षा दिवस, २०७६ का अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुवै व्यक्तिका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत पाउने रकमको चेक हस्तान्तरण गर्नुभयो । थापाका श्रीमती सुस्मिता क्षेत्री र अविवाहित मोक्तानका बाबुआमा दिवासनसिंह र धनमायालाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
क्लोज सिष्टम इन्टरनेशनल नेपाल प्रालिमा कार्यरत इञ्जिनीयर थापा र कैरोश क्याफे प्रालीमा कार्यरत तामाङको सडक दुर्घटनामा परी ज्यान गएको थियो । उनीहरुले जम्मा दुई महिनामात्र कोषमा योगदान गरेका थिए । कोषले सुस्मितालाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत अन्तिम संस्कार खर्चबापत एकमुष्ट रु २५ हजार र मासिक निवृत्तिभरण (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) वापत रु १७ हजार प्रदान गरेको छ ।
मासिक निवृत्तिभरण उहाँ जीवित रहुञ्जेल प्रदान गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो । यस्तै मोक्तानका बाबुआमाले सोही योजनाअन्तर्गत अन्तिम संस्कारवापत एकमुष्ट रु २५ हजार र मासिक निवृत्तिभरण (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) वापत रु १० हजार २०० प्राप्त गर्नुभएको छ । मासिक निवृत्तिभरण उहाँहरुले आजीवन प्राप्त गर्नुहुनेछ ।
कोषले तत्कालका लागि चार प्रकारका सुरक्षा योजना लागू गरेको छ । कोषमा योगदान गर्नेले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकाश सुविधा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् ।