मेलम्ची आयाेजना : सयाैँ मजदुरकाे मेहनतकाे फल उपत्यकावासीले पाउँदै

लेवरपाटी संवाददाता
    ४ पुष २०७६, शुक्रबार २१:३२  मा प्रकाशित



काठमाडाैँ– मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन् ।

शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो । यहाँ इन्जिनीयरहरु पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए । चाइनिज कामदार पनि आ–आफ्नै जिम्मेवारीमा व्यस्त थिए । कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ । तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पुर्याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

अहिले मुहान क्षेत्रमा चिनियाँ २० र नेपाली १२० कामदारले काम गरिरहेका छन् । कूल गरेर ३०० कामदार परिचालन छन् । जसमा ७० जना चाइनिज रहेको जनाइएको छ ।

Write your Comment