आन्दाेलनरत मजदुरकाे माग तत्काल पूरा गर्न जिफन्ट गण्डकीकाे माग

ठेकेदारले एक करोड १२ लाख ५० हजार भुक्तानी दिन बाँकी
लेवरपाटी संवाददाता
    १९ पुष २०७६, शनिबार २२:३१  मा प्रकाशित



काठमाडाैँ– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले ज्याला नपाएर ठेकेदारबाट पीडित भएका मजदुरकाे माग तत्काल पूरा गर्न माग गरेकाे छ  । जिफन्ट गण्डकीले एक विज्ञप्ती प्रकाशित गरी यसअघि सरकार, व्यवसायी र श्रमिकका प्रतिनिधिबीच भएको सहमतिको पालना गर्दै श्रमिकले पाउन बाँकी भुक्तानी तत्काल गर्न आग्रह गरेकाे छ ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र बहादुर खत्रीद्वारा जारी विज्ञप्तीमा विगतकाे सहमति तत्काल पालना गर्न अन्यथा कडा आन्दोन सुरु हुने चेतावनी दिइएको छ ।

यसैबीच मजदुरले काम गरेको ज्याला नपाएपछि सुरु गरेको आन्दोलनमा नेपाल बिजुली, पेण्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) ले ऐक्यबद्धता जनाएको छ । काम गरेपछि ज्याला पाउनु मजदुरको नैसर्गिक अधिककार भएको भन्दै क्यूपेकले ज्यालाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताएको छ ।

क्यूपेकका महासचिव गोपाल कार्कीद्धारा प्रकाशित विज्ञप्तीमा श्रमिकहरुले पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराइ राष्ट्रिय गौरवको आयोजना सञ्चालनका लागि सम्बन्धित सरोकारवाला सवैमा अनुरोध गरिएकाे छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वरदेखि नारच्याङ पुल खण्डको पहिलो खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेड जेभीले ज्याला नदिएपछि मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार बिहान ११ देखि २ बजेसम्म विभिन्न माग लेखिएका प्ले कार्डसहित मजदुरहरु प्रशासन कार्यालयमा धर्ना बसेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीका अध्यक्ष बालादेवी राईले जानकारी दिनुभयो  । मजदुरले युनाइटेड कम्पनीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित कार्यालयमा मंगलबार तालाबन्दी र प्रदर्शन गरेका थिए ।

‘ठेकेदारले छ महिनादेखि झुलाएर दुःख दिएपछि बाध्य भएर तालाबन्दी, प्रदर्शन र धर्नामा उत्रिएका हौँ,’ पीडित बेदबहादुर थापाले भन्नुभयो ‘प्रशासनले ठेकेदारलाई पक्राउ गरेर ज्याला नदिलाएसम्म आन्दोलन जारी राख्छौँ ।’ नाै नाइकेमार्फत परिचालित २०५ जना मजदुरलाई युनाइडेट कम्पनीले ज्याला बापत रू एक करोड १२ लाख ५० हजार ७२ भुक्तानी दिन बाँकी रहेको नाइके कोमबहादुर बुढाले बताउनुभयो ।

सम्बन्धित समाचार

ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिए मजदुर, बेनी-जोमसोम-कोरला सडकका मजदुर ज्याला माग्दै धर्नामा

रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट काम गर्न आएका मजदुरहरु ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । गत साउनमा कार्यालयमा तालाबन्दी गरेपछि १९ लाख रुपैयाँ भुक्तानी दिइएको थियो । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा युनाइटेड कम्पनीका सञ्चालक सकुन्तलाल हिराचनले पुस १० गतेसम्म सबै ज्याला भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘तालाबन्दी र धर्ना बस्दा पनि बेवास्ता गरिए आयोजना र सडक ठप्प पार्छौ,’ नाइके बुढाले भन्नुभयो ।

कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले सडक विभागले भुक्तानी दिन ढिलाई गरेका कारण मजदुरलाई समयमा ज्याला दिन नसकेको बताउनुभयो । ‘यसै हप्ताभित्र भुक्तानी पाउने प्रक्रियामा छौ,’ अर्यालले भन्नुभयो ‘हामीले पैसा पाउनेबित्तिकै मजदुर, सप्लायर्सलाई दिइहाल्छौँ ।’

Write your Comment