मलेसियाको टप ग्लोब कम्पनीमा काम गर्ने हजारौँ नेपाली अलपत्र, महिनौंदेखिको पारिश्रमिक पाएनन्

लेवरपाटी संवाददाता
    २२ पुष २०७६, मंगलबार १०:४२  मा प्रकाशित



काठमाडौँ– मलेसियास्थित टप ग्लोब कम्पनीको सञ्चालक संस्था डब्लुआरपी गम्भीर आर्थिक सङ्कटमा फसेपछि सो कम्पनीमा कार्यरत हजारौँ नेपाली र बङ्गलादेशी कामदार समस्यामा परेका छन् । उनीहरुले केही महिनाको तलब, सुविधासमेत पाउन बाँकी छ ।

कम्पनी बन्द हुने हल्लाकाबीच सयौँ नेपाली र बङ्गलादेशी कामदार सोमबार कम्पनीको बन्दर सालाकस्थित कार्यालयमा भेला भएका थिए । ठूलो सङ्ख्यामा कामदार भेला भएपछि ठूलै सङ्ख्यामा प्रहरीसमेत तैनाथ गरिएको थियो । तर त्यहाँ कुनै अप्रिय घटना भने भएन ।

उनीहरुले आफूहरुले पाउन बाँकी तलबको अनिश्चितता तथा रोजगारी सुचारु हुने नहुने विषयमा जिज्ञाशा राखेर दिनभरी बसेपनि जवाफ पाउन सकेनन् । सो कम्पनीले कामदारलाई समयमा तलब नदिने, जवर्जस्ती आफ्नै क्यान्टिनमा महँगोमा खानुपर्नेलगायत बाध्यता सिर्जना गरेका कारण गतवर्षको जनवरीयता दुईपटक आन्दोलन नै भइसकेको छ । गतवर्षको जनवरीमा तीन दिनसम्म भएको हड्तालमा सो कम्पनीमा कार्यरत दुई हजार कामदार प्रदर्शनमा उत्रिएका थिए ।

सो क्रममा मलेसियाको श्रम विभागले गरेको अनुसन्धानमा कम्पनीले कामदारलाई महिनौँको तलब दिन बाँकी रहेको, अतिरिक्त समय काम गरेको रकम नदिइएको, तलबबाट गैरकानूनी रुपमा बढी रकम काटिएको, बढी समय काममा लगाएको तथा सार्वजनिक बिदाको दिनमा पनि काम गराएर सो बापतको रकम नदिएको तथ्य प्राप्त गरेको सार्वजनिक भएको थियो ।

सुरुमा मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले समेत सो कम्पनीले कामदारको अधिकार हनन् गरेको र कारबाही हुने बताएपनि पछि अचानक कम्पनीको पक्षमा उभिएका थिए । उनले अनावश्यक रुपमा हल्ला गरिएको भन्दै कम्पनीको बचाउ गर्ने प्रयास गरेपनि त्यसले कुनै फरक पारेन ।

सो कम्पनीले कामदारलाई पारिरहेको समस्याका विषयमा बेलायती सञ्चारमाध्यम गार्जियनमा समाचार छापिएपछि अमेरिकाले सो कम्पनीको उत्पादनलाई अमेरिका प्रवेशमा बन्देज लगाएको छ ।

यसैगरी केही युरोपेली मुलुकमा समेत टप ग्लोबको उत्पादनको मागमा कमी आएपछि कम्पनी आर्थिक रुपमा सङ्कटमा परेको भन्दै केही समयका लागि बन्द गरिएको छ ।

सोमबार भेला भएका ती कामदारले आफूहरुलाई यथार्थ जानकारी दिइनुपर्ने, पाउन बाँकी रकम तत्काल उपलब्ध गराउनुपर्ने भन्दै दिनभरी रुँगेर बसेका थिए । तर यस बारेमा कम्पनीले कुनै जानकारी भने नदिएको एक नेपाली कामदार भूमिराम थारुले बताए ।

सो कम्पनीमा कार्यरत एक नेपालीले कम्पनीले पुनः १४ गते बैठक बोलाएको छ । उनका अनुसार सो दिन कम्पनी पुरै बन्द हुने वा थोरै कामदार राखेर सञ्चालन हुने भन्ने जानकारी दिने आश्वासन कम्पनीका तर्फबाट दिइएको छ । कम्पनीमा कार्यरत एक नेपालीका अनुसार हाल ग्लोब उत्पादन बन्द छ तर प्याकिङ गर्ने तथा पानीजहाजमार्फत पठाउने काम भने जारी छ ।

सो कम्पनीमा कार्यरत ५७ नेपाली जसको भिसाको म्याद सकिएको थियो, उनीहरुलाई स्वदेश फर्काउने प्रक्रिया कम्पनीले आरम्भ गरिसकेको छ । त्यसमध्ये केहीलाई गत जनवरी ३ र ६ तारिखमा नेपाल फर्काइसकिएको छ भने केही कामदार जनवरी ८ र १४ मा नेपाल फर्किनेगरी टिकट काटिएको छ ।

यसैबीच मलेसियाकिनी अनलाइनका अनुसार कम्पनीका तर्फबाट नियुक्त अन्तरिम लिक्विडेटरले यो हप्ताभरी नेपाल, बङ्गालदेशलगायतका कामदार काम गर्ने मुलुकका दूतावाससँग यस विषयलाई कसरी सुल्झाउने भन्ने विषयमा छलफल गर्दैछन् ।

समाचारअनुसार बीचमै स्वदेश फर्काउन लागिएका ती कामदारमध्ये केहीले अन्तरिम लिक्विडेटरलाई आफूहरु मलेसियामा नै काम गर्न इच्छुक रहेको भन्दै जवर्जस्ती स्वदेश नफर्काउन माग गरिसकेका छन् । तर त्यसको सुनुवाइ भएको छैन ।
–देशपरदेशबाट

Write your Comment