युएईमा कामदार बाेकेकाे मिनी बस दुर्घटना, ६ काे मृत्यु, १९ नेपाली कामदार घाइते (भिडियाेसहित)

नेपाली राजदूत ढकालले बुझे घाइतेकाे स्वास्थ्यवस्था
लेवरपाटी संवाददाता
    २ माघ २०७६, बिहीबार २२:०९  मा प्रकाशित



काठमाडाैं– संयुक्त अरब इमिरेट्स (युएई) को अवुधाबीमा कामदार बाेकेकाे मिनी बस लरीमा ठाेक्किएर दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी १९ नेपाली कामदार घाइते भएका छन्  । मृतक कामदारकाे पहिचान खुल्न सकेकाे छैन । बसमा अघिकांश नेपाली कामदार सवार भएकाले मृत्यु भएकामध्ये केही नेपाली पनि हुन सक्ने आशंका गरिएकाे छ ।

बसमा २५ कामदार सवार थिए । त्यसमध्ये १९ नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

दुर्घटनाकाे खबरलगत्तै नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको  अवुधाबी नेपाली दूतावासले जनाएकाे छ । घाइतेहरुको अवुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका नेपाली कामदारको अवस्था बुझ्न युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत अस्पताल पुगेका छन् ।

घाइतेमध्ये ५ नेपालीको अवुधाबीस्थित खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ । कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे अवुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको थियाे । चालककाे लापरबाहीका कारण बस दुर्घटनामा परेका अवुधाबी प्रहरीले जनाएकाे छ । अवुधाबी प्रहरीले सार्वजनिक गरेकाे भिडियाे फुटेजअनुसार कामदार बाेकेकाे बस तीव्र गतिका कारण लरीमा ठाेक्किएकाे हाे ।

Write your Comment