प्रवासका महिलाकाे गुनासाे– हामीले गरेकाे कामकाे जस कसैले दिँदैन्,

भगवान गिरि/रासस
    ३ माघ २०७६, शुक्रबार २२:२०  मा प्रकाशित



लिस्बन– काठमाडौंँकी सुशीला थापा १० वर्षदेखि पोर्चुगलमा छिन् । उनी रोजगारीका सिलसिलामा नेपाली भूमि छाडेर विदेशिएकी हुन् । विदेश बसाइका क्रममा नेपालीले भोगेको समस्याप्रति थापा जानकार छिन् ।

नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्या समाधान गर्न थापाले आफ्नातर्फबाट सक्दो काम गर्दै  आएकी छिन् ।  प्रवासमा रहेर पनि थापाले विभिन्न सङ्घसंस्थामा सक्रिय भई काम गर्दै आएकी छिन् ।

“प्रवासमा समस्यामा परेका नेपालीलाई सकेको सहयोग गर्न पाउँदा निकै खुशी छु”, उनी भन्छिन्, “तर नेपाली समाजबाट सहयोग भने छैन ।” पोर्चुगलमा रहेर प्रवासी नेपाली एकता मञ्च, नेपाली नारी समाज, गैरआवासीय नेपाली सङ्घ, नेपाली महिला समाजलगायत धेरै सङ्द्दसंस्थामा काम गर्दै आएकी थापा समाजमा निःस्वार्थ काम गर्दा समाजले हेर्ने दृष्टिकोण भने फरक रहेको बताउँछिन् ।

“मैले प्रवासमा रहेर पनि सकेको सहयोग गरेको छु”, उनले भनिन्, “महिलाले गरेको समाजसेवा पुरुषको नजरमा अलिक कमजोर चाहिँ हुने रहेछ । तैपनि म आफ्नो कामप्रति दृढ छु ।” अस्थायी र स्थायी बसोबासका लागि धेरै नेपाली महिला विभिन्न देशबाट पोर्चुगल आउने गर्छन् । भाषा, सीप र क्षमता अभावकै कारण धेरै नेपाली समस्यामा पर्ने गरेको थापा बताउँछिन् ।

“महिला होस् या पुरुष, समस्यामा परेका सबै नेपालीलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो”, उनले भनिन्, “पुरुषकै कारण नेतृत्व तहमा नपुगे पनि उनीहरुसरह समाजसेवामा भने तल्लीन छौंँ ।”

अहिले पोर्चुगलमा सुशीला मात्रै होइन, अन्य महिला पनि आफ्नो कामसँगै समाजसेवामा सक्रिय छन् । दुई वर्षदेखि पोर्चुगलमा रहेकी सीता श्रेष्ठले पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्यामा साथ दिँदै आएकी छिन् । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महिला उपाध्यक्ष एवं नारी समाजमा रहेर काम गरेकी श्रेष्ठ समाजसेवा गर्दा अपजस बढी आउने गरेको अनुभव सुनाउछिन् ।

उनी दुर्व्यसनमा परेका एवं सडकमा पुगेका नेपालीको उद्धार, रोजगारमा लगाइदिने जस्ता काम गर्दै आएकी छिन् । प्रवासमा सबैभन्दा धेरै महिलाको समस्या रहेको उनकाे अनुभव छ । “नेपालमा जस्तै प्रवासमा पनि महिलाहरु शारीरिक, मानसिक र आर्थिक समस्याबाट पीडित भएका छन्”, उनले भनिन्, ‘पुरुषप्रधान समाजमा हुर्केका हामी नेपालीको सोचाइमा परिवर्तन आउन आवश्यक छ । ”

श्रेष्ठका नजरमा प्रवासमा जति समाजसेवा गरे पनि नेपाली समाजले महिलाको कामप्रति सधैंँ प्रश्न गर्ने गरेको छ । “दैनिकजसो महिलाका केही न केही समस्या आइनै रहन्छन् । दुवै पक्षलाई राखेर समस्याको समाधान पनि गर्ने गरेका छौंँ”, उनले थपिन, “पुरुषले पेलेको हाम्रो नेपाली समाजले महिलाका सराहनीय कामप्रति जस भने कहिल्यै दिँदैन ।”

हाल पोर्चुगलमै रहेका दोलखाका निमल्हमु शेर्पाको भनाइ पनि उस्तै छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका उपाध्यक्षसमेत रहेका उनी दुःखमा परेका प्रवासी नेपालीलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको बताउँछिन् । “मलाई समाजसेवाका लागि पारिवारिक साथ र सहयोग पनि छ, त्यसैले नेपाली समुदायका लागि समाजसेवा गर्न तयार छु”, उनले भनिन्, “प्रवासमा आएर पनि हाम्रो सोचाइ र अरुले गरेको कामको सम्मान हामी सबैले गर्न जरुरी छ ।”

Write your Comment