दक्षिण काेरियामा दुई नेपालीकाे मृत्यु, दूतावासले उनीहरू शव नेपाल लैजाने प्रक्रिया थाल्याे

जीवन खत्री/रासस
    ३ माघ २०७६, शुक्रबार २२:२८  मा प्रकाशित



दक्षिण काेरिया– रोजगारीका लागि दक्षिण काेरिया आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा परी मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए ।

घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ । तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको संँगै कार्यरत नेपालीले बताए ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले मृतकका शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बताए ।

Write your Comment