वैदेशिक राेजगारीमा जाने तयारी गर्दै हुनुहुन्छ ? कतै तपाईंलाईं म्यानपावर र एजेन्टले ठगेका त छैनन् ?

लेवरपाटी संवाददाता
    १३ माघ २०७६, सोमबार ११:०७  मा प्रकाशित



काठमाडाैँ– के तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि छ भने एक पटक यी कुराहरुमा ध्यान दिनुहोला जसले गर्दा तपाई ठगीमा पर्नबाट जोगिन सक्नुहुन्छ |

विदेश जानुपूर्व आवश्यक सूचनाको अभावमा विदेश जान नपाउँदै नेपाली युवाहरु देशभित्र नै ठगिने गरेका छन् | रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने राम्रोसँग बुझेर मात्र जानुपर्छ |

विदेश पठाई दिन्छु भन्दै म्यानपावरहरुले राम्रो कामको प्रलोभन देखाएर तपाईंसँग चर्को रकम असुली गरिरहेका त छैनन् ? वा एजेन्टले म्यानपावरमा लगिदिन्छु भन्दै तपाईंलाई प्रलोभनमा पार्दै त छैनन् | हाेस् पुर्याउनुहाेस् सरकारले हाल एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तसर्थ एजेन्टबाट कुनैपनि कारोबार गर्नु गैरकानूनी हो |

म कुन देश जाँदै छु,काम के हो ? भनेर सर्वप्रथम तपाईंले राम्रोसँग ख्याल राखु जरुरी छ | कुनै विषयमा शंका लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुपर्छ | विदेशमा पाइने काम र तलबको बारेमा जान्न म्यानपावरको मात्रै भर पर्नु पर्छ भन्ने छैन | वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np  मा गएर जानकारी पाउन सकिन्छ |

उक्त वेवसाइटमा गएर वैदेशिक रोजगारीमा जानको लागि आफूलाई राम्रो लागेको कामका लागि आवेदन दिन सकिन्छ | भने अन्तर्वार्ताका लागि मात्रै म्यानपावर जाँदा हुन्छ | सबैभन्दा पहिले तपाइँले कुन म्यानपावर संस्थाबाट विदेश जाँदैहुनुहुन्छ, त्यो म्यानपावर कालोसूचीमा त परेको छैन ? विभागबाट इजाजत प्राप्त हो वा होइन ? भन्ने कुरामा राम्रोसँग हेक्का राख्नुपर्छ | यसका लागि विभागको वेवसाइटमा गएर हेर्न सकिन्छ |

अबदेखि सुरुमै म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनु आवश्यक छैन | वैदेशिक रोजगार विभागले श्रमिक छनोट प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था गरेको छ | अनलाइन आवेदन दिँदा पासपोर्ट नम्बर राखे हुन्छ | त्यसपछि छनोट भएपछि मात्र भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनुहोस् |

पैसा बुझाउनु पूर्वश्रम स्वीकृति भएको छ कि छैन ? भनेर राम्रोसँग बुझ्नुहोस् | श्रम स्वीकृति लिनका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ | आर्थिक कारोबार गर्दा वैदेशिक रोजगारीमा जानका लागि दिएको भन्ने प्रयोजन खुलाउनुहोस् | म्यानपावरले लागत बढी मागेमा विभागमा उजुरी गर्न सकिन्छ |

श्रम स्वीकृति भइसकेपछि इमेलमार्फत श्रम स्टिकर पाइन्छ भने म्यासेजमार्फत मोबाइलमै जानकारी आउँछ त्यसकारण आफ्नो मोबाइलमा म्यासेज आयो कि आएन भनेर चनाखाे हुनुहोस् | वैदेशिक रोजगारीसम्बन्धी तपाईंका कुनै उजुरी र गुनासो छ भने, श्रम मन्त्रालयको कल सेन्टर १६६००१५०००५ मा र विभागको टोल फ्री नम्बर १६६००१०९९९९ मा फोन गरेर टिपाउन सकिन्छ |

Write your Comment