श्रमकाे मूल्य खाेज्दै पिएन क्याम्पसका ज्यालादारी प्राध्यापक आन्दोलनमा

१४ हजार विद्यार्थीकाे भविष्य अन्याेलमा
लेवरपाटी संवाददाता
    १२ माघ २०७६, आइतबार २१:५४  मा प्रकाशित



चिप्लेढुंगा– पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन् ।

आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको बताए । क्याम्पसमा कार्यरत ५४९ प्राध्यापकमध्ये २१८ जना आंशिक रहेको पनि उनले जानकारी दिए ।

सङ्घका सचिव खिमानन्द पौडेलले क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा सञ्चालन भइरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षाबन्द भएको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक नदिने गरेको बताए । पाठ्यक्रमले प्रष्टरुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिकसत्रमा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापक पूरा शैक्षिकसत्र प्राध्यापन गर्न बाध्य भएको उनको भनाइ छ ।

“यस हिसाबले सोही बराबरको काम गर्ने पूर्णकालीन प्राध्यापकको करिब १० प्रतिशत पारिश्रमिकमा नै आंशिक प्राध्यापक सेवारत छन्”, उनले भने । आन्दोलनको कार्यक्रमअन्तर्गत गत मङ्सिर २९ गतेदेखि विरोधका विभिन्न कार्यक्रम गरिएको आंशिक प्राध्यापक सङ्घका अध्यक्ष सुनिल गौतमले बताए ।

उनले विगत १४ वर्षदेखि विविध सङ्घर्षका कार्यक्रममार्फत आफ्ना माग राख्दै आएका आंशिक प्राध्यापकको मागको सुनुवाइ नभएपछि कक्षा बहिस्कारको आन्दोलन शुरु गरेको बताए । आंशिक प्राध्यापकको आन्दोलनका बारेमा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा चन्द्रबहादुर थापाले आंशिकको समस्या विशेष भएको धारणा राखे ।

यता विद्यार्थीको हकका लागि स्थापित अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले आंशिक प्राध्यापकको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए । हाल क्याम्पसमा १४ हजार विद्यार्थी अध्ययनरत छन् । रासस

Write your Comment