मलेसियाकाे जेलमा भेटिएका साेमकुमार नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामै (भिडियोसहित)

लेवरपाटी संवाददाता
    १८ माघ २०७६, शनिबार २२:४९  मा प्रकाशित



काठमाडाैं– २०६४ सालमा मलेसिया गएका उदयपुरका सोमकुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको मलेसिया भ्रमणको क्रममा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिएपछि सञ्चार माध्यममार्फत उनको परिवारको खोजी भएको थियो । साझा सवाल मिडियाले उनै साेमकुमारसँग झण्डै आधा घण्टा कुराकानी गरेकाे भिडियाे सार्वजनिक गरेकाे छ ।

उदयपुर जिल्लाकाे साविक मयखु वडा नं ३ (हाल कटारी नपा वडा नं १३)  बरबास निवासी धनबहादुर तामाङका छोरा हुन् सोमकुमार । वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका उनी एक दशकदेखि उतै बेपत्ता भएका थिए । मलेसिया गएको डेढ वर्षसम्म आफ्नो परिवारसँग नियमित सम्पर्कमा रहेका तथा पैसा पठाएका तामाङलाई कम्पनीले तोके जति तलब नदिएपछि अवैधानिक बनेको बताएका छन् ।

साे भिडियाेमा उनले अवैधानिक बसेपछि मोबाइल हराएको र आफ्नो परिवारसँग सम्पर्क टुटेको बताएका छन् । कम्पनी छाडेको केहि समय उनले मलेसियामै अर्को कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गरे सोही क्रममा एक इन्डोनेसियाली युवतीसँग प्रेममा परेपछि बिबाह समेत गरेका थिए । विवाहपछि उनीहरुको छोरी जन्मिएको तर एक दिन ड्युटीबाट आए लगत्तै मलेसिया इमिग्रेसनले पक्राउ गरि जेल हालेको उनले बताएका छन् । इमिग्रेसनले तामाङको श्रीमती र छोरीलाई समेत इन्डोनेसिया पठाएको तामाङले बताएका छन् ।

मलेसियाको जेलमा रहेका तामाङलाई विभागका महानिर्देशक डा भुसालले भेटेपछि उद्दार सम्भव भएको भन्दै उनका भाई राजकुमार तामाङले महानिर्देशक भुसाललाई धन्यवाद दिए । बिहीबार नेपाल फर्किएका तामाङलाई लिन उनका भाई एयरपोर्ट पुगेका थिए । उनले भने “दाईलाई फोटोको आधारमा चिने । अरु सबै लगेज र पासपोर्ट बोकेर एयरपोर्टबाट बाहिरिदै गर्दा एउटा मान्छे खाली हात एउटा कागजात बोकेर बाहिरिदै गरेको देखें, अनि फोटो हेरेर आफ्नै दाई हो भन्ने चिनें”,  भाइ राजकुमारले भने ।

साझा सवाल मिडियाका लागि मनाेज पराजुली र अनिल अधिकारीले साेमकुमारसँग गरेकाे कुराकानी

Write your Comment