वैदेशिक रोजगारीमा जाने युवालाई विना धितो ऋण

लेवरपाटी संवाददाता
    १९ माघ २०७६, आइतबार ११:२२  मा प्रकाशित



वीरगञ्ज– प्रदेश–२ सरकारको समन्वयमाबाट वैदेशिक रोजगारीमा जाने युवाहरुले बिना धितो सहुलियत ऋण पाउन थालेका छन् । जनकपुरमा भएको एक कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रदेश नं. २ का नौ जना युवाहरुले पहिलो बिना धितोको सहुलियत कर्जा प्राप्त गरेका छन् । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले बिहीबारबाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।

कर्जा वितरण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा सुरु भएको योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अब समाधान हुने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारीमा जाने युवाहरु सीप सिकेर मात्रै जानु पर्नेमा जोड दिए । यसअघि एसबिआई बैंकले पनि बिना धितो सहुलियत कर्जाको शुभारम्भ गरेको थियो ।

प्रदेश सरकार, सीप परियोजना र प्रभु बैक र एसबिआई बैंकबीच साउन महिनामा वैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन् भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसँग भएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुले राहदानी (पासपोर्ट) बनाएपछि बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनु पर्नेछ । त्यस लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोलिदिने र भिसा लागेपछि, भिसा, श्रम सम्झौता बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, दार्तनिकाय (डिफिड) का रोब क्लार्क, सीप परियोजाका बलजित बोहरा लगायत उपस्थित थिए । याे समाचार आजकाे काराेबार दैनिकले छापेकाे छ ।

Write your Comment