कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएएनएकाे आग्रह

वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन एनआरएएनएले सहयोग गर्ने
लेवरपाटी संवाददाता
    २४ माघ २०७६, शुक्रबार २१:२४  मा प्रकाशित



काठमाडाैं– गैरआवासीय नेपाली संघ (एनआरएएनए) ले चीनबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सजग रहन अपिल गर्दै चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने जनाएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीले प्रेस विज्ञप्ति जारी गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् वुहानमा रहेका १४० बढी नेपालीसँग सम्पर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावासको समन्वयमा नेपाल फिर्ता गर्ने सम्बन्धमा सक्रिय रुपमा काम गरिरहेको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणले अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको संक्रमणबाट चीनलगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ ।”

संघले काेराेना भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिको आत्माको चीरशान्तीको साथै संक्रमितकाे शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकाे छ । यस प्रकोपबाट नेपालको पर्यटनलगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको भन्दै संघले नेपाल जस्तो कम साधनश्रोत सम्पन्न मुलुकलाई चुनौति थपिएको जनाइएको छ ।

यस्तो अन्तराष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने भन्दै एनआरएनएले यसका लागि सबै राष्ट्र र सम्पूर्ण व्यक्ति एकताबद्ध भई लाग्नु पर्ने धारणा राखेको छ । यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहेका नेपालीलाई एनआरएनएले अपिल गरेको छ ।

Write your Comment