पार्टी निकट म्यानपावर व्यवसायीकाे सभामा देउवाले भने, व्यवसायी र श्रमिक दुवै सुरक्षित हुनुपर्छ

लेवरपाटी संवाददाता
    २४ माघ २०७६, शुक्रबार २१:४५  मा प्रकाशित



काठमाडाैं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुरक्षित गरिनुपर्नेमा जाेड दिएका छन् ।

काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फाेरमको १० औँ वार्षिक साधारणसभालाई शुक्रबार राजधानीमा सम्बाेधन गर्दै उनले वैदेशिक रोजगारीमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी र  वैदेशिक रोजगारीमा जाने युवा दुवै सुरक्षित रहनुपर्ने बताए ।

काँग्रेसका प्रमुख सचेतक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट सरकारले व्यवसायी माथि समेत अधिनायकवादी चरित्र देखाएको भन्दै व्यवसायीमाथि ऐन कानून र नियमावलीका माध्यमबाट नियन्त्रणकारी योजना बनाएकोले त्यसका विरुद्ध काँग्रेसले व्यवसायीलाई सबै प्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेता सुरेन्द्र पाण्डेले नेपालको संविधानमा रहेको व्यवसायको सुरक्षाको ग्यारेन्टी गरेकाले म्यानपावर व्यवसायीहरुले स्वतन्त्र रुपमा आफ्नो पेशा सञ्चालन गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने बताए ।  पूर्व श्रममन्त्री तथा पार्टी केन्द्रीय सदस्य रमेश लेखकले मुलुकको वैदेशिक रोजगारले नेपालको अर्थतन्त्रमा ४० प्रतिशत योगदान दिएका कारण बाह्य पक्षले आलोचना गर्दैमा वैदेशिक रोजगार व्यवसायीहरुले शिर निहुराउन नुहने भन्दै वैदेशिक रोजगार क्षेत्रले दिएको योगदान प्रति काँग्रेसले गर्व गर्ने बताए ।

साधारणसभालाई एशोसिएसनका पूर्वअध्यक्ष एवं नेवाल वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे, एशोसिएसनका पूर्वअध्यक्षद्वय किरण किशोर घिमिरे र विमलप्रसाद ढकाललगायतले सम्बाेधन गरेका थिए ।

Write your Comment