अर्धवार्षिक समीक्षा : श्रम मन्त्रालयकाे उपलब्धिसूचक ७० प्रतिशत बढी

निर्धारित लक्ष्य हासिल गर्ने रणनीति बनाउन मन्त्री यादवकाे निर्देशन
लेवरपाटी संवाददाता
    २५ माघ २०७६, शनिबार २१:५१  मा प्रकाशित



काठमाडाैं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय महाततका निकायहरुको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको उपलब्धी सूचकको हालसम्मको प्रगति समीक्षा सार्वजानिक गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बसेको बैठकले उपलब्धीको समीक्षा गरेको हो । सो अवसरमा मन्त्रालयका महाशाखा प्रमुखहरु र मातहतका निकायका महानिर्देशक, कार्यकारी निर्देशकहरुबाट अर्ध वार्षिक प्रगतिको प्रस्तुतीकरण र समीक्षा भएको थियो । मन्त्रालयले चरणवद्ध उपलब्धीको लागि राखेका लक्ष्यमध्ये ७०.५५ प्रतिशत लक्ष्य अनुसार प्रगति भएको जनाइएको छ ।

यसैगरी २८.८५ प्रतिशत प्रगतिको क्रममा रहेको र ०.७५ कार्यक्रम सुरु हुन नसकेको अवस्था छ । समीक्षा कार्यक्रममा मन्त्रालयलाई चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट, कार्यक्रमगत, शीर्षकगत र श्रोतगत छलफल भएको थियो । विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्य अनुसारको प्रगति हासिल गर्न चाल्नु पर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा मन्त्री यादवले सरकारको नीति बमोजिम आन्तरिक रोजगारी प्रवर्द्धन हुने गरी रोजगारीका क्षेत्र र संभावना खोजी गर्नुपर्ने बताए । साथै सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउनु पर्ने र आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारी समेतलाई उपलब्धी मूलक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताए ।

मन्त्रालयको कार्यलाई अझ बढी नतिजादायी बनाउन सबै निकाय बीच समन्वय र सहकारी अभिवृद्धि गर्नुपर्ने धारणा राख्दै लक्ष्य अनुसार प्रगति हुन नसकेको कार्यक्रमलाई बाँकी अवधिमा लक्ष्य अनुसारकै प्रगति हुनेगरी रणनीति बनाई कार्यान्वयन गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना शिघ्र प्रकाशन गर्न निर्देशन दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, आन्तरिक रोजगारीला;ई प्रोत्साहन दिने विषयमा प्राथमिकता दिनुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्धता बढदै जानुपर्ने विषयलाई केन्द्रविन्दुमा राखी मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने समेत बताए । याे समाचार आजकाे काराेवार दैनिकले छापेकाे छ ।

Write your Comment