अभिमुखीकरण व्यवसायीले भने, नयाँ संस्थालाई अनुमति दिनु हुँदैन

पहिले अनुगमन गर्छु अनि छलफल गरौँलाः महानिर्देशक दहाल
लेवरपाटी संवाददाता
    २७ माघ २०७६, सोमबार २२:१३  मा प्रकाशित



काठमाडौं– नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले नवनियुक्त वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई भेट गरी नयाँ अभिमुखीकरण तालीम प्रदायक संस्थालाई अनुमति नदिन ध्यानाकर्षण गराएको छ ।

विभागका महानिर्देशक दहाललाई शुभकामना तथा बधाई दिन पुगेको महामसंघका पदाधिकारीले वैदेशिक रोजगारमा जाने नयाँ व्यक्तिको संख्या घट्दै गइरहेको भन्दै नयाँ तालिम केन्द्र सूचीकृत गर्ने भन्दा पनि उपत्यकाभित्र सञ्चालित तालिम केन्द्रलाई विकेन्द्रीकरणका लागि प्रोत्साहित गर्ने नीति बनाउन सुझाव दिएको छ ।

भेटमा अभिमुखीकरण तालिमको प्रभावकारिता तथा गुणस्तरीयता बढ्ने नीति बनाउन आग्रह गरिएको महासंघका अध्यक्ष राजाराम गौतमले जानकारी दिए ।

यस्तो छ, महासंघको ध्यानाकर्षणपत्र

मिति : २०७६/१०/२७

श्रीमान् महानिर्देशक ज्यू
वैदेशिक रोजगार विभाग
बुद्धनगर, काठमाडौं ।

विषय :– बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको सम्बन्धमा ।

महोदय,
वैदेशिक रोजगारमा जाने कामदारलाई सही सूचना प्रवाह गरेर उनीहरुलाई सुरक्षित वैदेशिक रोजगार बनाउन अनिवार्य गरिएको दुईदिने अभिमुखीकरण तालिम प्रदान गर्नेे संस्थाको एक मात्र छाता संगठन नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ सर्वप्रथम वैदेशिक रोजगारमा जाने कामदारको पक्षमा वकालत गर्ने एक मात्र निकाय वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी लिएर आउनु भएकोमा स्वागत तथा कार्यकालको शुभकामना दिन चाहन्छौँ ।

श्रीमान् महानिर्देशक ज्यू, नेपाल सरकारले मिति २०६० सालबाट दिग्दर्शन बनाएर तालिम संचालन गर्न थालिएता पनि हाल वैदेशिक रोजगार ऐन, २०६४ ले अझ प्रष्ट रुपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अनिवार्य लिने व्यवस्था गरेको छ । तालिम संचालन गर्न पाठ्यक्रम निर्माण तथा प्रशिक्षक तालिम तयार गर्न तत्कालीन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई जिम्मा दिएको छ भने दर्ता नवीकरण र अनुगमन कारबाही यस वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था छ ।

हाल नेपालमा उपत्यकाभित्र र बाहिर गरी कुल १४८ तालिम केन्द्र रहेका छन् । शुरुमा उपत्यकाभित्र मात्र सीमित रहेको अभिमुखीकरण तालिम प्रदायक संस्थालाई बिकेन्द्रीकरण गर्न सरकारले कार्यविधि, २०७१ बनाई श्रम कार्यालय रहेका नौ जिल्लामा मात्र अभिममुखीकरण तालिम केन्द्र स्थापना गर्ने अनुमति दिएको थियो । जसअनुसार शुरुमा ४३ वटा तालिम केन्द्र उपत्यका बाहिर स्थापना भएता पनि अहिले उक्त संख्या ६० को हाराहारी पुगिसकेको छ । उपत्यकाभित्र रहेको १०५ वटा तालिम केन्द्र पनि अनुमति पाएको स्थानमा भटाभट ठाउँसारी भई राखेका छन् ।

सोही सन्दर्भमा मिति २०७३ माघ ३ देखि तालिम संचालनलाई व्यवस्थित बनाउन वायोमेट्रिक हाजिरी व्यवस्था गरेको छ । हाल वैदेशिक रोजगार वोर्डले पाठ्यक्रम संशोधन, शुल्क वृद्धि, समयावधि थप गर्न पहलकदमी भई राखेको अवस्था छ भने केहि संशोधन भई कार्यविधि, २०७६ पनि आउन लागेको अवस्था छ । सहि सूचना दिलाउन र कामदारलाई सुरक्षित बनाउन महासंघले पाठ्यक्रम परिमाजनमा सक्दो सहयोग गर्दै आएको छ । आफू मातहकका व्यवसायीलाई आचारसंहिता, २०६८ र संशोधन २०७५ बनाई सबै व्यवसायीलाई हस्ताक्षर गराई विकृति र विसंगतिका विरुद्धमा प्रतिबद्धता गराएका छौँ । समय समयमा ‘रिफ्रेसमेन्ट’ तालिम दिलाउने तथा अध्ययन भ्रमण जस्ता कार्य गरी तालिमको गुणस्तरमा समेत महासंघले पहल गर्दै आएको श्रीमान् महानिर्देशकज्यूलाई जानकारी गराउन चाहन्छौँ ।

हाल यस व्यवसायमा केही समस्या रहेको र समाधानका लागि महानिर्देशकज्यूमा केही सुझाव दिन चाहन्छौँ ।

१. हाल संचालनमा आएको ‘आइटी सिष्टम’मा केही समस्या आएकाले कार्यसम्पादनमा असहज भएको हुँदा तालिम व्यवसायीबीच छलफल र समाधानको बाटो बनाउनुपर्ने देखिन्छ ।
२. बायोमेट्रिक हाजिरीलाई ‘क्रस चेक’ गर्न भनी श्रम डेस्कमा राखिएको वायोहाजिरी मेसिन तत्काल परिवर्तन गरी उद्देश्यअनुरुपको प्रयोजनमा ल्याउनु पर्ने अवस्था छ ।
३. औँठाछाप पठाउने व्यवस्थामा तत्काल परिमार्जन गरी त्यसमा भएको विकृतिको अन्त्य गरिनु आवश्यक छ ।
४. धरौटी थप व्यवस्थाको समय सीमा अष्पष्ट भएको हुँदा विभागले सूचना निकालेर स्पष्टता गराउनुपर्ने देखिछ ।
५. ठाउँसारी हुन चाएर निवेदन गरेका तालिम केन्द्रलाई यथाशीघ्र अनुगमन गरी अनुमति प्रदान वातावरण बनाउनुपर्ने देखिन्छ ।
६. हाल सरकारको नीति वैदेशिक रोजगारमा जाने कामदारलाई निरुत्साहित गर्ने भएको हुँदा र वैदेशिक रोजगारमा जाने नयाँ व्यक्तिको चाप कम भइरहेको सन्दर्भमा नयाँ तालिम केन्द्र सूचीकृत गर्नेभन्दा उपत्यकाभित्र रहेर संचालित तालिम केन्द्रलाई ठाउँसारी गर्न प्रोत्साहन गर्ने नीति बनाउन सके तालिमको गुणस्तरीय वृद्धि हुने निश्चित छ ।

अन्तमा, विगतमा महासंघले बुझाएका कार्यविधि निर्माणको लागी १७ बुँदे सुझाव तथा १९ बुँदे मागपश्चात यस व्यवसाय व्यवस्थित गर्न गरेको प्रतिबद्धतालाई पुनःमूल्याङ्कन गर्न श्रीमान् महनिर्देशकज्यू समक्ष पुनः अनुरोध गर्दछौँ ।

भवदीय
राजाराम गौतम
अध्यक्ष
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ

Write your Comment