विदेशमा रहेकाे श्रीमानकाे श्रीमती भगाउनेलाई कडा कारबाही गर्न सांसद पाख्रिनकाे माग

अर्काको घर परिवार बिगार्ने पुरुष र महिला दुवैलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण
लेवरपाटी संवाददाता
    २९ माघ २०७६, बुधबार २२:३०  मा प्रकाशित



काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्तिमाया तामाङ पाख्रिनले वैदेशिक रोजगारीका क्रममा देखिएको विकृति रोक्न तत्कालै पहल थाल्न सरकारलाई आग्रह गरेकी छिन् ।

सुन्दर भविश्य निर्माण गर्ने रङ्गिन सपना बोकेर खाडीमा पसिना बगाएका युवायुवतीले तीन/चार वर्षपछि स्वदेश फर्कदाँ साथमा श्रीमान्/श्रीमती वा सम्पत्ति कुनै पनि नहुने अवस्था आएको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् ।

“वैदेशिक रोजगारीमा विकृति झाङ्गिँदै गएको छ”, उनले भनिन्, “श्रीमान्/श्रीमती विदेशमा हुँदा घर परिवार सम्हाल्न नसक्ने महिला/पुरुष र अर्काको घर परिवार बिगार्ने पुरुष र महिला दुवैलाई कारबाही गर्न कडाभन्दा कडा कानूनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”

पाख्रिनको भनाइ उनकै शब्दमा

सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर नेपाली युवायुवती रोजगारीका निम्ति विदेशिएका हुन्छन् । यो नेपाली युवायुवतीको रहर होइन बाध्यता हो । खाडीको मरुभूमिमा तपतप पसिना चुहाउँदै श्रम गरी तीन चार बर्षपछि घर फर्किँदा आफ्नो साथमा न त श्रीमान अथवा श्रीमती, न त दुख गरी कमाएको पैसा नै हुन्छ ।

तसर्थ यो नेपाली समाजमा झागिंदो अवस्थामा रहेको विकृति हो । श्रीमान् विदेश हुँदा अथवा श्रीमती विदेशमा हुँदा घरपरिवार सम्हाल्न नसक्ने महिला र पुरुष वा अर्काको घरपरिवार विगार्ने पुरुष र महिला दुबैलाई कडा भन्दा कडा कानुनको ब्यवस्था गर्नुपर्छ भनी म यस गरिमामय सदनमा सभामुखमार्फत सम्बन्धित निकायसमक्ष माग गर्दछु ।

Write your Comment