बालुवाको ढिस्कोले पुरिएर कुवतेमा छ नेपालीको मृत्यु, दुई घाइते

घाइते एक नेपाली उपचारपश्चात कम्पनी फर्किए
लेवरपाटी संवाददाता
    १ फाल्गुन २०७६, बिहीबार २१:३६  मा प्रकाशित



काठमाडौँ– बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

मुत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ । निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करिब डेढ घन्टाको दूरीमा रहेको छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

Write your Comment