काठमाडाैं – नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे ।
नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिइन् ।
नेपाली काँग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरिन् । उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गरिन् ।
सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षणसमेत गराइन् ।