नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक

ती मुलुकका नागरिकले आजदेखि कतार प्रवेश गर्न नपाउने
लेवरपाटी संवाददाता
    २६ फाल्गुन २०७६, सोमबार ११:५२  मा प्रकाशित



काठमाडौं– नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारले नेपाललगायत विभिन्न १४ मुलुकका नागरिकलाई तत्कालका लागि कतार प्रवेशमा अस्थायी रोक लगाएको छ ।

कोभिड–१९ ले विश्वव्यापी रुप लिएको र कतारमा पनि केही सङ्क्रमित व्यक्ति फेला परेपछि कोरोना सङ्क्रमण फैलिएका तथा उच्च जोखिममा रहेका मुलुकका नागरिकको प्रवेशमा रोक लगाएको हो ।

अस्थायी रोक लगाइएका मुलुकमा नेपालीसहित बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्ड रहेका छन् । तीन मुलुकका नागरिकले आजदेखि कतार प्रवेश गर्न नपाउने कतारी अधिकारीले जनाएका छन् ।

सम्बन्धित समाचार

कतारमा पनि भेटियो कोरोना भाइरस, लाखौँ नेपाली कामदार प्रभावित हुन सक्ने

कतारमा बसोबास गर्ने व्यक्तिमा कोभिड–१९ को संक्रमण नभएपनि अन्य मुलुकबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि थप सङ्क्रमण नहोस् भनेर कतारले अस्थायी रोक लगाउने निर्णय गरेको हो । कतारले सबै नागरिक र त्यहाँ बसोबास गर्दै आएका व्यक्तिलाई अत्यावश्यक बाहेक अन्य यात्रा नगर्न आग्रह गरेको छ ।

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा चार लाखभन्दा धेरै नेपाली रहेका छन् । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाभाइरस हाल इटाली, दक्षिण कोरिया,जापान,कतार, संयुक्त अरब इमिरेट्स (युएई), भारत लगायतका मुलुकमा फैलिसकेको छ ।

Write your Comment