काेराेना भाइरसका कारण कतारका लागि श्रम स्वीकृति दिने काम राेकियाे

कतार भिसा सेन्टरको सेवा पनि बन्द
लेवरपाटी संवाददाता
    २७ फाल्गुन २०७६, मंगलबार १३:५७  मा प्रकाशित



काठमाडौं– कोभिड–१९ (कोरोना) भाइरस संक्रमण फैलने त्राससँगै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशकमा रोक लगाएसँगै नेपाल सरकारले पनि वैदेशिक रोजगारीको लागि कतार जानेहरुका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलले जनाएकाे छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार हाल कतारको लागि भिसा आएका नेपालीको संख्या ३५ देखि ४० हजार रहेकाे छ । कतार सरकारले नेपालीलाई प्रवेशमा रोक लगाएसँगै ठूलो संख्यामा नेपालीहरु प्रभावित भएको उनले बताए ।

नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भए पनि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मङ्गलबारबाट बन्द भएको छ ।

सम्बन्धित समाचार

कतारमा कोरोना : अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक

कतारमा पनि भेटियो कोरोना भाइरस, लाखौँ नेपाली कामदार प्रभावित हुन सक्ने

वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले बताए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

सोहि अनुरुप कतारको इमिग्रेशनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको उनको भनाइ छ ।

Write your Comment