श्रममन्त्री भन्छन्, नेपालका म्यानपावरले ठगीमात्रै गर्दा रहेछन् !

कामदार ठग्यौँ भने जेल जान तयार होऊ
लेवरपाटी संवाददाता
    २८ फाल्गुन २०७६, बुधबार ११:३७  मा प्रकाशित



काठमाडौं– सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन घोषणा गरे पनि अझै पनि कयौँ नेपाली कामदार वैदेशिक रोजगारीका नाममा ठगिँदै आएको सरकारकै एक मन्त्रीले खुलासा गरेका छन् ।

एक निजी टेलिभिजन प्रस्तोतासँग कुराकानी गर्दै उनले वैदेशिक रोजगारीमा ठूलो मात्रामा ठगी हुँदै आएको र त्यस्ता ठगी नियन्त्रण गर्न नसकिएको स्वीकार गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उक्त अन्तर्वार्तामा वैदेशिक रोजगारीमा जाने सोझा कामदारलाई नठग्न म्यानपावर व्यवसायीलाई चेतावनी दिएका छन् ।

उनले भनेका छन्, “म म्यानपावर व्यवसायीलाई भन्छु की, तिमीहरु नेपालीलाई ठग्ने काम नगर, दिनकादिन नेपाली ठगिइरहेका छन्, दिनौँ म्यानपावरमा छापा मार्ने काम गरिरहेका छौँ ।” कामदारमाथि अन्याय गर्ने र ठगी गर्नेमाथि सरकारले कारबाही गरिरहेको पनि उनले बताए । अब कुनै पनि नेपाली वैदेशिक रोजगारीका नाममा ठगिनु पर्ने उनको भनाइ थियो ।

कामदारमाथि अनावश्यक आर्थिक शोषण गर्ने म्यानपावरको धज्जी उडाइदिने धम्की दिएका मन्त्री यादवले भनेका छन्, “कुनै नेपालीलाई ठग्ने प्रयास गर्नुभयो भने भित्र (जेल) जान तयार हुनुहोस् ।” कुनै समय निकै राम्रो हैसियत बनाएका म्यानपावर पनि कामदार ठगेकै कारण त्यसका मालिक जेलमा परेको उनले सुनाए । उनले अन्तर्वार्तामा कुन कुन म्यानपावरका मालिक जेलमा परेका हुन् भन्ने चाहीँ खुलाएनन् ।

म्यानपावरले मात्र ठग्ने नभई कम्सल्टेन्सीले पनि वैदेशिक रोजगारीको नाममा नेपालीलाई ठगिरहेको उनले जिकिर गरे । म्यानपावर र कन्सल्टेन्सीका नाममा व्यापार गर्नेलाई सरकारले नछाड्ने उनको भनाइ थियो । माफियाको दबाबले आफूलाई ठगमाथि कारबाही गर्नबाट कुनै रोक लगाउन नसक्ने बताउँदै मन्त्री यादवले भने, “त्यस्ता दबाबको सामना गरेर कुनै नेपालीलाई पनि ठगिन दिन्न ।”

Write your Comment