वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

लेवरपाटी संवाददाता
    ३० फाल्गुन २०७६, शुक्रबार १२:०१  मा प्रकाशित



काठमाडौं– कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि बन्द गरेको छ ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलकुहरु दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइसर देखिएपछि सरकारले ती मुलुकका लागि जारी गरिने श्रम स्वीकृति अनश्चितकालका लागि बन्द गरेको हो ।

सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ । बिहीबार बसेको कोभिड ( १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बुधबार विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसलाई महामारीको घोषणा गरेको थियो । कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यकसतर्कता अनुरुप अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । नेपाली श्रमिकका लागि बैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकहरुमा पनि अहिले कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ ।

कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ । त्यस्तै कुवेतले बिहिबारदेखि सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ ।

युएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Write your Comment