विदेशबाट फर्केकाले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन बोर्ड आग्रह

लेवरपाटी संवाददाता
    १६ चैत्र २०७६, आइतबार २०:३६  मा प्रकाशित



काठमाडौं– कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वैदेशिक रोजगार बोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ ।

नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा मात्र कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा बोर्डले गन्तव्य मुलुकबाट भर्खरै स्वदेश फर्केका युवालाई १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेको हो ।

क्वारेन्टाइन अवधिपछि मात्र आफ्ना परिवार, साथीभाई तथा आफन्तसँग भेटघाट गरिदिन पनि बोर्डले अनुरोध गरेको छ । बार्डले एक्कासि उच्च ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा वा निरन्तर खोकी लाग्ने समस्या देखिएमा तत्कालै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरेको छ ।

कोरोनाका कारण विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा आफू जहाँ भए पनि अनुशासित भई सरकारको निर्देशन पालना गर्न पनि बोर्डले आग्रह गरेको छ । सरकारले कोरोना भाइसरको सङ्क्रमण बढ्न सक्ने भन्दै पहिलो चरणमा यही चैत १८ गतेसम्म लकडाउन गरेको छ ।

Write your Comment