आज गुरु पूर्णिमा, गुरु भन्नाले के बुझिन्छ ? गुरुको महत्व के रहेको छ ?

लेवरपाटी संवाददाता
    २१ असार २०७७, आइतबार १२:२१  मा प्रकाशित



–ज्यो. पं विष्णुप्रसाद खनाल

ॐ अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः।।

अर्थात्, अज्ञानरुपी अन्धकारमा परेर अन्धो जस्तो भएको मलाई, ज्ञानरुपी गाजलका कोसाले (शलाकाले) आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परमपूज्य गुरुदेवलाई म सादर वन्दना गर्दछु । गुरु शब्दको शाब्दिक अर्थ हेर्दा पनि ‘गु’ अर्थात् अन्धकार र ‘रु’ भनेको हटाउनेवाला अर्थात अँध्यारो हटाइ उज्यालो भविष्य प्रदान गर्ने व्यक्ति वा पदार्थ गुरु हुन् जसको महिमा अपरम्पार छ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।

गुरुलाई साक्षात् ब्रह्मा विष्णु र महेशका अवतारका रुपमा पनि मानिएको छ । हरेक आषाढ शुक्ल पूर्णिमालाई व्यास पूर्णिमा अर्थात गुरु पूणिर्माका रूपमा मनाउने चलन छ । संस्कृत शब्दकोषमा गुरु जनाउने आठ वटा प्रमुख शब्द शिक्षक, अध्यापक, प्राध्यापक, उपाध्याय, महामहोपाध्याय, देशीकोत्तम, आचार्य, गुरु रहेका छन् । यी सबै न‌ै गुरु हुन् । अरु शास्त्रले गुरुको बारेमा यसरी बुझाएका छन् । हृद्योपनिषद् (पृ.१२५) अनुसार सम्यक व्यक्ति गुरु ह‍ो । कृष्णयजुर्वेदीय व्रह्मविद्य‍‍ोपनिषद, पृ. २१४, शुक्ल यजुर्वेदीय पैङ्गलोपनिषद्, पृ. २०७, स्वसंवैद्योपनिषद् पृ. ३४१ अनुसार परमात्मा बुझेको व्यक्ति गुरु हो । मुकुन्दोपनिषद्अनुसार एक्निष्ट व्यक्ति गुरु हो । अविद्यारुपी हृदयग्रन्थीलाई चिरेर संसारी बन्धनबाट मोक्ष दिलाउने व्यक्ति विशेषलाई सर्ववेदान्त सिद्धान्तसारले गुरु भनी व्याख्या गरेको छ ।

अविद्याहृदयग्रन्थिबन्धमोक्षो यत‍ो भवेत् ।
तमेव गुरुरित्याहुर्गुरुशब्देन योगिनः ।।

यसैगरी अध्यापन गराउने व्यक्ति, पिता, माता, दाजु, हजुरबुबा, मामा, ससुरा, आदिलाई पनि गुरु मान्नुपर्छ ।

उपाध्यायः पिता माता ज्येष्ठ‍ो भ्राता महिपतिः ।
मातुलः श्वशुरश्चैव मातामहपितामहौ ।
वर्णज्येष्ठः पितृव्यश्च सर्वे ते गुरवः स्मृताः ।। (कुर्म पुराण)

यज्ञवल्क्य स्मृतिमा वेद अध्यापन गर्ने र गायत्री मन्त्र प्रदान गर्ने व्यक्ति विशेषलाई गुरु भनिएको छ । गुरुर्यःक्रियाः कृत्वा वेदमस्मै प्रयच्छति (याज्ञवल्क्यस्मृति १ र ३४) । यस्तै भविष्यपुराणदेखि लिएर अरु प्रायः पुराणमा गुरुको गुण केलाइएका छन् । श्रीमद्भागवतमा भगवान् श्रीकृष्णले यो चराचर जगत्लाई नै गुरु मान्नु भएको छ । धुर्वले आफ्नी सौतेनी आमालाई गुरु मान्नु भएको छ । मुनि दत्तात्रयको कथा प्रसङ्गमा चौबीस वटा गुरुको वर्णन गरिएको छ ।

पृथ्वीबाट धैर्यवृत्ति, वायुबाट व्याप्त प्रवृत्ति, जलबाट स्वच्छवृति, आकाशबाट निर्मलवृत्ति, अग्निबाट तेजस्वी वृत्ति, मौरीबाट सञ्चयवृत्ति कमिलाबाट उद्योग जालवृति आदिको वर्णनबाट गुरुको महिमा सर्वत्र रहेको जान्न सकिन्छ । अभ भनौँ यो संसारका सबै वस्तु गुरुसमान छन् । हाम्रो पहिलो गुरु ‘आमा’ हुनुहुन्छ । सर्वप्रथम आमालाई सम्मान गर्नुपर्छ । त्यस‌ैगरी दोस्रो गुरुको रुपमा पितालाई शास्त्रले मानेको छ । पिता शब्द नै मार्गदर्शनार्थी हो । त्यसपछि तेस्रो विद्या प्रदान गर्ने शिक्षकलाई शास्त्रले गुरुको संज्ञा दिएको छ । जो सदा आदरणीय र पूजनीय हुनुहुन्छ ।

यस्तै पूजनीय, आदरणीय र बन्दनीय मध्य एकजना हुनुहुन्छ मुनि वेद व्यास (कृष्ण द्वैपायन) जसको आज जन्म जयन्ती हो । उहाँलाई नसम्भिने र गुणगान नगर्दा उहाँको अपमान हुनेछ । व्यास नाम नभएर पदवी हो भन्ने पनि चलन छ । उहाँको अर्को नाम छ भन्ने गरिएको छ । जसअनुसार वेद विभाजक र पुराणका निर्माताको नाम कृष्णद्वैपायन हो । जसलाई वादरायन पनि भन्ने गरिन्छ । कृष्णद्वैपायन शब्द पनि संयुक्त शब्द हो । जसमा कृष्ण र द्वपायन दुईवटा शब्द छन् जसमा कृष्ण मुख्य र द्वैपायन स्थान जनाउने शब्द हो जसअनुसार द्विपमा घर भएको भनने हुन्छ । \

वादरायन पनि स्थान जनाउने शब्द हो जसअनुसार वयरक‍ो जङ्गल भएको ठाउँमा घर भन्ने हुन्छ । पराशर र सत्यवतिको पुत्रको रुपमा आजकै दिनमा जन्म भएको थियो भन्ने शास्त्रीय प्रमाण पाइन्छ । उहाँको शिक्षाको बारेमा खासै उल्लेख नभए पनि उहाँको गुरुको नाम जातूकर्ण्यः हो । वेद व्यासको आश्रम सरस्वती नदिको किनारमा थियोे भनिएको छ । उहाँ सम्पूर्ण भारतवर्षमा घुमिरहनु हुन्थ्यो जसले गर्दा धेरै ठाउँमा व्यास आश्रमको रुपमा प्रख्यात छन् । त्यस्तै नेपाली भूमिको कुरा गर्नु पर्दा तनहुँमा आएर बस्नु भएको भन्ने विश्वास छ ।

व्यासजीका चार मुख्य शिष्य थिए । जसले चार वेदको प्रचारप्रसार गरेका छन् । व्यास भन्नाले वृतको विचक‍ो १८० डिग्रीको कोणलाई बुझिन्छ । जसरी व्यासले वृतलाई वरावर हिसाबले बाँड्छ त्यसरी नै सबै वैदिक वाङमय को भित्र गएर वेदलाई बाँड्नु भएकोले वेदव्यास भनिएको हो । संस्कृत धातु (प्रत्ययद्वारा पनि व्यासको अर्थ विभाजन हुन्छ) माथिका प्रसङ्गबाट आजक‍‍ो दिनको पर्म पावनता प्रष्ट हुन्छ ।

अब आजको दिनलाई फलिभूत गराउन के के गर्नुपर्छ । आजक‍‍ो दिन बिहान शुद्धभई व्यास मुनिको सम्भना पूजाअर्चना गर्नुपर्दछ । सँगसँगै गणेश भगवानको पनि पूजाअर्चना गर्नुपर्दछ । प्रथम पूज्य र व्यासमुनिलाई लेखन कार्यमा सगाएकाले । आज घरमा भएका सबै धार्मिक पुस्तकको पनि पूजा गर्नु पर्दछ । साथै आमा बाबा र गुरुलाई पनि सात्विक खाध्य पदार्थ र उपहारसहित भेट गरेर आशिर्वचन लिनु पर्दछ । यदि टाढा भएर भेट्न सम्भव नभएमा विद्युतीय सञ्चार माध्यमबाट सम्पर्क गरेर आशिर्वचन लिन सकिन्छ । उहाँहरुको भौतिक शरीर यहाँ नभएमा उहाँहको नामबाट कुनै पूण्यको काम गरी आशिर्वचन लिन सकिन्छ । यसरी आजको दिन आध्यात्मिक हिसाबले सफल बनाउन सकिन्छ ।
मोक्षको कामना सिद्ध गर्न सकिन्छ ।

Write your Comment