शैक्षिक बेरोजगारलाई स्वरोजगार बनाउँदै कनकाई नगर

लेवरपाटी संवाददाता
    १३ आश्विन २०७७, मंगलबार २१:३५  मा प्रकाशित



काठमाडाैं– झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको ‘शिक्षासँगै रोजगार’ कार्यक्रमले शैक्षिक बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । नगरपालिकाले गत वर्षदेखि सङ्कलन गरेको बेरोजगारहरुको सूचीलाई अन्तिम रुप दिन आजदेखि काम शुरु गरेको छ ।

स्थानीय साथै जिल्ला बाहिरका समेत शैक्षिक बेरोजगार युवा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को साझेदारीमा सञ्चालित कनकाई पोलिटेक्निक इन्ष्टिच्युटमा भर्ना हुन पाउने छन् ।

हाल सो प्राविधिक विद्यालयमा झापा र छिमेकी इलाम, पाँचथर, ताप्लेजुङ, मोरङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । स्थानीय सरकारको सञ्चालनमा रहेको कनकाई –७ दुर्गापुरमा एक वर्षअघि मात्र स्थापित प्राविधिक शिक्षातर्फ डिप्लोमा इन सिभिल इञ्जिनीयर, डिप्लोमा इन आइटी इञ्जिनीयर र डिप्लोमा इन जोमेट्रिक इञ्जिनीयर विषयमा अध्ययनअध्यापन हुँदै आएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै कोरोना कहरका बीचमा पनि समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउने वर्तमान सरकारको सपनालाई साकार पार्ने उद्देश्यका साथ यतिबेला स्थानीय सरकार नयाँ योजनाका साथ अघि बढेको नगरपालिकाका प्रमुख पोखरेलको भनाइ छ ।

शिक्षासँगै रोजगारी शुरुआत गरेको नगरपालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा पहिलो वर्ष अध्ययन प्रारम्भ गरेका ४५ विद्यार्थीमध्ये धेरै हाल स्वरोजगार भइसकेको बताइएको छ । बाँकी केही विद्यार्थीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने गरी कनकाई नगर क्षेत्रका १२ हजार घरधुरीमा परिचयपत्र प्रदान र लगत सङ्कलनको विवरण भर्ने जिम्मेवारी प्रदान गरिएको छ । नगरपालिकाले सो कार्यका लागि चालु आर्थिक वर्षमा रु ५० लाखसमेत विनियोजन गरेको बताइएको छ ।

Write your Comment