समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनी संसार डुल्नका लागि ।

लेवरपाटी संवाददाता
    २३ चैत्र २०७५, शनिबार ०१:००  मा प्रकाशित



काठमाडौँ – मलाई सपनाको घर बनाउनु थियो । र, म चाहन्थे, नाम चलेको मानिसले यसको डिजाइन गरिदेओस् । त्यसैले म नाम चलेका केही डिजाइनरहरुकोमा गएँ । तर कसैले पनि चासो देखाएनन् । जसले देखाए जस्तो गरे, तिर्नै नसक्ने खालको पैसा मागे ।

कतिसम्म भने कुल लागतको आठ प्रतिशत डिजाइनरलाई तिर्नुपर्ने रे । अन्तमा हार खाएर म आफैँले घरको डिजाइन शुरु गरेँ । आखिर आवश्यकतानै आविष्कारको जननी हो भनिएको सत्य रहेछ । सपनाको घरको मोटामोटी आकार कागजमा उतारेर म आर्किटेक्टकोमा पुगेँ ।

‘घरको डिजाइन कस्तो गर्ने ?’ आर्किटेक्टले सोधे । सोध्नै नपाई मैले भनेँ, ‘पुतलीको जस्तो ।’ परबाट हेर्दा हाम्रो घर चिटिक्क परेको पुतली जस्तो देखिन्छ । पुतली भनेको एउटा सपना हो, झुसिलकीराको सपना ।

झुसैझुुस भएको कीराले सपना देख्छ रे, एकदिन रङैरङ भरिएको पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौँ, परपर धपाउँछौँ । राम्रो घाम, हरियो पात र सरिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फेर्छ । सुन्दर पुतली बन्छ ऊ ।

मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनी संसार डुल्नका लागि । म चाहन्छु, मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरु यहाँबाट जुनी बदल्न सकून् । प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस् ।

त्यसैले मैले यो घरको नाम राखेँ, पुतली घर । अनि त्यसको आकार पनि त्यस्तै बनाउन लगाएँ । आखिर एउटा सपना, रहर र लगाव त रहेछ नि मान्छेको प्रेरणाको स्रोत ।

वरपर धेरै साना घर र बीचमा एउटा ठूलो भवन बनाउने डिजाइन तय भयो । त्यस अनुसार एउटा कोठामा कार्यालय, एउटामा कम्प्युटर कक्ष राखिने भयो । एउटा पुस्तकालय र केही स्थानीय वस्तुहरुको एउटा संग्रहालय पनि । बाँकी चाहिँ कक्षा कोठा र आवासगृहले भर्ने मेरो इरादा थियो ।

म चाहन्छु, छिमेकका साना बाबुनानीहरु पनि यहाँ पढ्न आऊन् । सिकून् नयाँ कुरा । र पुतली झैँ आफूलाई रंगीचंगी बनाएर ज्ञानको पंखा हाली उडून् । यो घर शिक्षाको एउटा सानो घर संसार बनोस् । मेरा केटाकेटीले मनैदेखि के सिकून् भने, हामीले सुख बाँड्न सिक्नुपर्छ । पहिले थिएन, अरुको मद्धतले बाँच्यौँ । अहिले छ, अरुलाई मद्धत गरेर बाँच्न सिक्नुपर्छ । दिने कला उनीहरुले सिकून् भनेर मैले समाजका अरु बालबालिकालाई घरमा बोलाएर लेखपढ गराउने, खेलाउने र सिकाउने योजना बुनेकी हुँ ।

छोराहरुका लागि छुट्टै र छोरीहरुका लागि छुट्टै घरको परिकल्पना मैले पहिल्यै गरिसकेको थिएँ । यिनका बीचमा मैले आफू बस्न भनेर एउटा सानो घर छुट्ट्याइएकी छु । कोही पाहुना आए पनि त्यही घरमा बस्नेछन् ।

घरमा ‘तारे जमिन’ को जस्तो एनपी थिएटर पनि छ जहाँ हामी बसेर पूरै काठमाडौँलाई नियाल्न सक्छौँ । घरको संरचना पूरै नेपाली पाराको छ । वरपर पनि यस्तै घर भएकाले म समाजमा पुरै घुलमिल भएको अभास घरकै बनोटले दिनेछ ।

शारीरिक रुपले अशक्तका लागि पनि शौचालय बनेको छ । यो ठाउँको विशेषता के भने यहाँ बिहानदेखि साँझैसम्म घाम लाग्छ । उचाइमा भएकाले हावा सरर चल्छ । बच्चाहरु स्कूल पुग्न एक मिनेटमात्रै हिँडे पुग्छ ।

यी सारा योजनालाई वास्तविकतामा बदल्न एउटै कुराका कमी थियो, पैसा । भएको पाँच करोड दुईतिरको जमीनमै खर्च भइगयो । मेरो यो अवस्थालाई भरथेग गर्न सहयोगी हात प्रशस्त सलबलाइरहेका थिए । मलाई भरोसा थियो तिनै हातहरुको, टम, डेभिड मामा र एञ्जिला दिदी ।

टमले अंकल फ्याङ्कले दिएको ७५ हजार डलर काठमाडौँ आएरै दिए । त्यतिले नपुगेर न्यूयोर्कबाट डेबिड मामा र एञ्जिला दिदीहरुले ७० लाख नेपाली रुपैयाँ उठाइदिनुभएको थियो । यसरी लगभग एक करोड ५५ लाख मसँग जम्मा भयो ।

यति पैसाले पुग्नेवाला त थिएन । तर पनि मैले काम रोकिनँ, बनाउन शुरु गरेँ । घर बनाउन जिम्मा लिएका दाईहरुले मलाई ढाडस दिए, ‘तिमी काम नरोक, हामीलाई पैसा भएका बखत दिए हुन्छ ।’ त्यसपछि त म सपनाको महल ठड्याउन दिनरात नभनी लागिरहेँ ।

पुतलीघरको खुसी

सीएनएन हिरोको घोषणा हुँदा नेपालमा बिहान आठ बजेको थियो । बच्चाहरु रातिदेखि टेलिभिजनको सेट अघिल्तिर बसेका रहेछन् । बस्दाबस्दा नआएपछि अबेर सुतेछन् । बिहान उठेर अल्छी मान्दै स्कूल जान लागेका बेला बल्ल कार्यक्रम शुरु हुँदै थियो ।

सीएनएन हिरो भन्ने नाम सुन्नासाथ उनीहरु झोलै फालेर टिभी अघिल्तिर कुदेछन् । अनि मलाई स्क्रिनमा देख्ने बित्तिकै ‘मामु’ भन्दै जोडजोडले चिच्याएछन् । बच्चाहरु कराएको चर्को आवाज सुनेर वरपरका मानिसहरु कान ठाडो पार्दै उनीहरुति हेरेछन् ।

‘के भयो हँ ?’, छिमेकीहरुले सोधेछन् । उनीहरुलाई लागेको रहेछ, पुतलीघरमा ग्यास पड्किएको छ र बच्चाहरु त्यसको अत्यासले चिच्याएका हुन् । सीएनएन हिरो मामु भएको खुशियाली मनाउन कराएको पत्तो पाएपछि छिमेकीहरु पनि खुसी भएछन् । अनि तिनले पनि बच्चाहरुलाई बधाई दिएर खुसी प्रकट गरेछन् ।

बच्चाहरुले त्यसदिन स्कूल जान पनि मानेनछन् । ‘हामीलाई थाहा थियो मामुले जित्नुहुन्छ भन्ने कुरा’ उनीहरु घर यसो भनेर उफ्रिँदा रहेछन् । घरी अस्पष्ट आवाजमा चिच्याउँदा रहेछन् । बच्चाहरुलाई मैले फोन गरेँ । अनि मामु आएपछि रमाइलो गर्ने योजनाहरु पनि सुनाएँ । उनीहरु त्यसै पनि खुसी भए । रमाइलो गर्ने भनेपछि त झनै उफ्रिन थालेछन् ।

कार्यक्रम सक्ने बित्तिकै नेपाल टेलिभिजनलाई पनि लाइभ इन्टरभ्यु दिएकी थिएँ । यो दौडादौडीका बीच म नेपाल फर्किएँ । एयरपोर्टमा ड्याडी–ममी लिन आउनुभएको थियो । मेरै बच्चाहरु पञ्चकन्या भएर आएका थिए । मैले कहिल्यै पनि नचिनेका मेरा आफन्तहरु पनि अथिए ।

मलाई ड्याडीले अंगालो हाल्नुभो । उहाँले यसरी मायाले अँगालेको मलाई थाहा छैन । उहाँले मलाई माया गर्नुहुन्न भनेकी होइन् । गर्नुहुन्छ, हृदयको पिँधदेखिनै गर्नुहुन्छ । त्यो म जान्दछु तर, माया गर्छु भनेर कहिल्यै व्यक्त गर्नुहुन्न । तर, त्यसदिन गर्नुभयो । एकदम प्रस्टसँग ।

त्या आलिङ्गन मलाई ड्याडीले दिनुभएको सर्वोत्तम उपहार जस्तो लाग्यो । उहाँको एक आलिङ्गनले मैले आफूलाई एकदमै सुरक्षित पाएँ । आखिर छोरी जति ठूली भए पनि बाआमाका लागि उ बच्ची नै हो । म खुसीले रोएँ । अनि ठानेँ, मेरा बाउलाई खुसी पार्ने काम त गरेछु नि कम्तिमा । त्यस क्षण मेरो छाती गर्वले ठडिएको थियो ।

बाआमाले तारिफ नगरेसम्म छोराछोरीको मनमा आफ्नो कामले निखार पाए जस्तो लाग्दो रहेनछ । आमाको अनुहारमा छचल्किने खुसीको आँशु र बुबाको ओठमा देखिने मुस्कुराहटले छोरीको खुसीमा कस्तो गाढा रङ जमाउँदो रहेछ, मैले त्यस क्षण अनुभव गरेँ ।

ममीले मलाई निधारमा टीका र गलामा माला लगाइदिनुभो । म उहाँको छातीमा शिर राखेर केहीबेर थमिएँ । बच्चाहरु हूल बाँधेर अबीर दल्न आए । ज्यादा अबीर अनुहारको छाला बिग्रन्छ भने होला, ममीले उनीहरुलाई भन्नुभो, ‘जथाभावी अबीर नदल न, बरु टीका लगाइदेओ ।’ बच्चाहरु के मान्थे, ‘आजै त हो दल्ने, फेरि यस्ता दिन कहिले आउँछ ।’

म त उनीहरुको खुसी देखेर त्यसै फुलेकी थिएँ । ममीको खुसी त अग्लिएर सगरमाथा भएको थियो । मेरो गलामा परेको माला बच्चाहरुले नै उनेका रहेछन्, राम्रा राम्रा फूल छानेर, दिनभर लगाएर । हेर्दाहेर्दै मिडियाका मान्छे टन्नै आइपुगे विमानस्थलमा । नेपालमा खुसीको यस्तो मोहल मैले सोचेभन्दा बढी थियो । त्यसपछि लगातार मानिसहरु आउने र भेट्ने गर्न थाले । कतिसम्म भने एक महीनासम्म त मान्छे भेट्ने बाहेक अरु काम मैले गर्न पाइनँ ।

सबका आआफ्ना स्वार्थ हुँदा रहेछन् । बधाई दिन आउने वहानामा बैंकवालाहरु पनि टन्नै आए र भने, ‘डलर हाम्रो बैंकमा राख्नुस् ।’ उनीहरुले के पनि थपे भने मैले डलर एकाउन्ट खोलेपछि व्याज धेरैनै पाउँछु ।

(शुक्रबार बिमोचन गरिएको सीएनएन हिरो र सीएनएन सुपरहिरो उपाधि विजेता पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’बाट साभार गरिएको हो ।)

Write your Comment